
पोखरा । गण्डकी प्रदेशमा एकैदिन पाँच जना मृत फेला परेका छन् । प्रदेशअन्तर्गतका विभिन्न ४ जिल्लामा आइतबार उनीहरु मृत भेटिएका हुन् । कास्की, तनहुँ, बाग्लुङ र नवलपरासी पूर्वमा शव भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ ।
कास्कीको महेन्द्र गुफा नजिकै एक महिलासहित बाग्लुङमा २ जना, तनहुँमा १ जना र नवलपरासी पूर्वमा १ जना गरी पाँच जना आइतबार मृत भेटिएका हुन् ।
कास्कीमा मृत्यु हुनेमा पोखरा १६ महेन्द्र गुफाकी ३६ वर्षीय गोमा परियार रहेकी छन् । एक्कासी वान्ता गरेर मुखबाट फिंज निकालेपछि उनलाई फिष्टेल अस्पताल लगिएको थियो । अस्पताल लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
यस्तै तनहुँमा अन्दाजी ४५ वर्षीय पुरुषको शव भेटिएको छ । देवघाट गाउँपालिका ५ ठिमुरा पुल स्थित त्रिशुली नदी किनारमा मृत भेटिएका उनको परिचय खुल्न सकेको छैन् ।
बाग्लुङमा भने श्रीमान श्रीमति दुवै मृत भेटिएका छन् । ढोरपाटन नगरपालिका ८ कुहिने बाटोमा उनीहरु मृत भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिनेमा ६० वर्षीय भुम बहादुर विक र बिमा विक रहेका छन् । गोठमा काम गर्न गएका उनीहरु त्यहीँ बसेकोमा पछि मृत भेटिएका हुन् ।
नवलपुरमा अचेत अवस्थामा भेटिएका अन्दमजी ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । अचेत अवस्थामा भेटिएका उनलाई उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । यी सबै घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
