फोनिजको २० औँ स्थापना दिवस पोखरामा पनि मनाइयो

Share:

पोखरा ।  नेपालआदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले २० औँ स्थापना दिवस मनाएको छ । दिवस अवसरमा बोल्दै पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले नेपालका आदिवासी जनजातिका भाषाहरुलाई कुनै संग्रहालयमा राख्नुपर्ने हो कि भन्ने अवस्था आउन थालेको बताएका छन् । आफ्नो भाषा तथा संस्कृतिको जगेर्नाका लागि आफैँ लाग्नु पर्ने उनको तर्क थियो । सबै जातजातिका भाषा संस्कृति साझा सम्पति भएको भन्दै सञ्चारमाध्यममा पनि कुनै एक मातृभाषालाई स्थान दिइनुपर्नेमा उनले जोड दिए ।

त्यस्तै नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले भाषा संस्कृति जगेर्नाका लागि अरु कसैले भनेर नहुने भन्दै आदिवासी जनजाति आफैँ सक्रियताका साथ लाग्नुपर्ने बताए । नेवारहरुको नेपाल संवतलाई समेत सरकारले राष्ट्रिय संवत भनेर घोषणा गरेपनि घोषणामा मात्र सीमित रहेको उनको भनाई थियो ।


आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेश समितिका अध्यक्ष एम.बी आस्था मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष शान्ति गुरुङ, फोनिजका गण्डकी प्रदेश इन्चार्ज हुम बहादुर गुरुङ, फोनिजका संस्थापक केन्द्रीय उपाध्यक्ष बालकृष्ण काउछा, फोनिज कास्कीका कार्यवहाक अध्यक्ष दिलप्रसाद गुरुङ लगाएतले आ–आफ्नो भनाई व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: