घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला

Share:

तनहुँ।तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको ( काइलाको )  सोमबार घाँटी रेटेर हत्या भएको छ । पहिचान नखुलेको व्यक्ति वा समूहले शाहीको घाँटी रेटेर हत्या गरेको हो ।शाहीको शव बन्दीपुर गाउँपालिका–४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

डुम्रेबजारमा किराना पसल सञ्चालन गर्दै आउनुभएका शाही आइतबार राति ८:०० बजे देखि बेपत्ता हुनुभएको थियो । शाही खोजीका लागि परिवारले प्रहरीमा अनुरोध गरेको थियो । प्रहरी उपरीक्षक सिलवालका अनुसार मृतक शाहीको घाँटीमा धारिलो हतियारको चोट छ ।सोमबार माछा मार्न जाने क्रममा स्थानीयवासीले शाहीको शव देखेपछि प्रहरीमा खबर गरेका थिए । शव परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

आर्थिक प्रलोभनका कारण शाहीको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।हत्यामा संलग्न जोसुकै भए पनि चाँडै कानूनको दायरामा आउने प्रहरी उपरीक्षक सिलवालले बताए ।शाही सुनको सौखिन भएको र शरीरमा थुप्रै सुन लगाएर हिँड्ने भएका कारण प्रलोभनले गर्दा शाहीको हत्या भएको हुनसक्ने स्थानीयवासी बताउँछन् ।

कमेन्ट गर्नुहोस्
Share: