आज रक्षाबन्धन तथा जनैपूर्णिमा देशभर मनाइँदै

Share:

पोखरा । आज श्रावण शुल्क पूर्णिमा अर्थात जनै पूर्णिमा । अझै भनौं रक्षाबन्धन र ऋषि तर्पणी पर्व आज (बिहीबार) देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले यो दिनलाई ऋषितर्पणी भनिएको हो ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान, ऋषि तर्पण गरेपछि मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ । जनै नलगाउने समुदायले पनि गुरु पुरोहितद्धारा रक्षा बन्धन गराउने परम्परा छ ।

सत्ययुगमा दानबद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

यस्तै,जनैपूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

काठमाण्डौको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा बिहानैदेखि मेला लाग्ने गर्छ ।

यस पर्वका अवसरमा विभिन्न शैक्षिक संस्था एवं स्थानीय सरकारले सार्वजनिक बिदासमेत दिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: