समाजवादी पार्टीको समायोजन तथा सपथ ग्रहण, साढे दुईसय पार्टी प्रवेश

Share:

समाजवादी पार्टी नयाँ हात्तीः डा.भट्टराई, सहमति कार्यान्वयन नभए सरकार छाड्छौंःउपप्रमं.यादव
पोखरा ।
बैकल्पिक राजनितिक शक्ति निर्माणका लागि एकिकृत बनेको समाजवादी पार्टीको गण्डकी प्रदेश समिति, कास्की जिल्ला समिति र पोखरा महानगर समितिको समायोजन तथा सपथ ग्रहण कार्यक्रम शुक्रवार पोखरामा सम्पन्न गरेको छ।

मोती रिजालको अध्यक्षतामा समाजवादी पार्टीको समायोजित प्रदेश समितिलाई पुर्णता दिदै ९९ सदस्यीय, गिरीप्रसाद गुरुङको अध्यक्षतामा ८१ सदस्यीय कास्की जिल्ला समिति र टिकाराम पौडेलको अध्यक्षतामा ८१ सदस्यीय पोखरा महानगर समिति घोषणा एवम पद तथा गोपनीयताको सपथ गराइएको हो। प्रदेश अध्यक्ष रिजालले प्रदेश सदस्यहरु, जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङ कार्यविशेषले विदेश रहनुभएकाले उपाध्यक्ष खड्ग गुरुङ र महानगर अध्यक्ष टिकाराम पौडेललाई सपथ ग्रहण गराएका थिए । यसरी नै जिल्लाका उपाध्यक्ष खडग गुरुङले जिल्ला समिति र महानगर अध्यक्ष टिकाराम पौडेलले महानगर समितिका पदाधिकारी, कार्यसमिति सदस्यहरुलाई समथ ग्रहण गराएका थिए ।

यसैविच नेकपा, नेपाली काँग्रेस, जनमुक्ति पार्टी लगायत विभिन्न क्षेत्रका २५५ जना नवप्रवेशीहरुलाई पार्टीका संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराई र केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अबीर र खादा लगाएर पार्टी प्रवेशका साथै स्वागत गरेका थिए ।

उक्त कार्यक्रमका प्रमुख अतिथि समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले समाजवादी पार्टी हात्ती छाप होइन, नयाँ हात्ती हो, मुलुकलाई समृद्ध बनाउने पार्टी भएको दावी गरे । पार्टीहरुको संख्या थप्न नभई बैकल्पिक सोंच, सिद्धान्त, नितिसहित एकिकृत भएको पार्टी भएको बताए । उनले नेकपा र नेपाली काँग्रेस पेप्सीकोला र कोकाकोला भने जस्तै हो भन्दै उनीहरुबाट जनताले अधिकार, मुलुकले समृद्धि पाउने अपेक्षा नगरे हुने बताए । पार्टी एकिकरण गरेको दुइवर्षसम्म एकिकृत हुन नसक्ने दुई जना कालकोठरीमा बसेर निर्णय गर्ने राजाहरु सञ्चालन गर्ने पार्टीहरुले साइनबोर्ड झुण्ड्याउनुको कुनै अर्थ नभएको भन्दै नेकपालाई डा.भट्टराईको प्रहार थियो। समाजवादी पार्टी सिद्धान्त र व्यवहारमा एक रुपता भएको पार्टी हुने दावी समेत उनको थियो।

जाति, समुदाय, क्षेत्र, लिंगको पहिचान, सबैको समावेशीता एवम अपनत्व गर्ने अहिलेको लोकतन्त्र भएको बताउनुहुदै हिमाल–पहाड–तराई जोड्ने समाजवादी पार्टी राष्ट्रवादी पार्टी हो, हिमाल पहाड मधेशलाई टुक्रयाउन खोज्नेहरु देशका फाटो पारे स्वागत लुट्न खोज्न विखण्डनकारी र लुटेराहरु भएको उनको आरोप थियो। संघीयतालाई ठिक ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिंदै गफ र भाषणले सुशासन नहुने नेता भट्टराईले बताए । ठुलो माछाका निम्ती सानो माछाले बलिदान दिनुपर्ने भ्रष्टचार संयन्त्रको अन्त्य गर्नुपर्दछ भन्दै हाम्रै कालमा समृद्ध मुलुक बनाउन सकिने ठोकुवा गरे । प्राकृतिक श्रोत र जनशक्तिको उचित उपयोग गर्न सके २०वर्षमा नेपाल संसारकै धनि देश बन्ने दावी समेत गरे ।

सडक टालटुल गर्न नसक्नेले पानी जहाजको फुर्ति लगाउछ, देशमै ठुलो अस्पताल निर्माणमा ध्यान नदिई विदेश उपचारमा धाउने, यति सुन्दर देश छोडेर दुबई घुम्न जाने उल्टो बुद्धि भएकाहरुले समृद्धिको नारा लगाउन नसुहाउने भन्दै प्रधानमन्त्री एवमं नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डलाई कटाक्ष गरेका थिए ।

जुन गोरुको सिङ छैन,उसैको नाम तिखे भनेझै कम्युनिष्टको कुनै सिद्धान्त र आचारण नभएका कम्युनिष्ट नामधारीको पछि लागेर हुँदैन २० वर्षमा मुलुकलाई समृद्ध बनाउने योजनासहितको पार्टी समाजवादीमा संगठित हुनु आव्हान गरेका छन् । संघीया, सुशासन, समृद्धि र समाजवादलाई आत्मसाथ गर्दै समाजवादको नयाँ साझा मोडल तयार गरी समृद्ध मुलुक निर्माणका समाजवादी यात्रामा सबै जुट्नुपर्ने बताउदै नवप्रवेशीहरुलाई बधाई र हार्दिक स्वागत व्यक्त गरेका थिए ।

नेपाली काँग्रेस पार्टीलाई म्युजियममा राख्ने नभई काँग्रेसका राम्रा विचारलाई संरक्षण र संग्रहित गर्नुपर्दछ भन्ने विचारलाई नबुझेर गाली गर्दै काँग्रेस हिडे उसैलाई नोक्सानी हो बताएका छन् । बरु विपी, गिरीजाप्रसाद कोइरालापछि काँगे्रस पार्टी काँग्रेस जस्तो नभएकाले नेतृत्वले सुधार्नुपर्ने सुझाव समेत दिए ।

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पूँजीवाद दर्शन विश्वभर ठूलो संकटमा परेको, यूरोप अमेरिका फाँसिवादतर्फ गईरहेको र कम्यूनिष्टको साम्यवादी प्रणाली चरम संकटमा परेको अवस्थामा समाजवादी पार्टीको वैकल्पिक वैचारीक दर्शनले विश्व नै तरंगित भएको बताए ।
समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले विभेदको विरुद्ध हिमाल–पहाड–तराई मधेश एक हुनुपर्ने बताए । लामो आन्दोलनको उपलब्धि संघीयता हो तथापि संघीयताको अन्त्य गर्ने दुष्प्रयास भईरहेकाले षडयन्त्रकारीहरुलाई खवरदारी गर्नुभयो। उपलब्धिको रक्षा गर्ने दायित्व समाजवादीको भएको बताए । विभेदकारी पुराना पार्टीहरुकै कारण युवा विदेशिन बाध्य भईरहेको भन्नुहुदै मुलुक समृद्ध बनाउन समाजवादी निती, आर्थिक क्रान्ति जरुरी रहेको बताए । पुर्ण समावेशी,बहुराष्ट्रिय मुलुक बनाउने हो, भिख माग्ने होइन स्वाभिमानी नेपाल बनाउनुपर्ने उनको भनाई थियो।

समृद्ध नेपाल निर्माणका लागि उर्वरभुमि, जलश्रोत, पर्यटन, जनशक्तिको उपयोग गरे नेपाल समृद्ध बन्ने बताउनुहुदै अध्यक्ष यादवले जातिय, लैंगिक, क्षेत्रिय लगायतका विभेद अन्त्य गरिनुपर्दछ भनेका छन् । भ्रष्टचारको अन्त्य र सुशासन, समावेशीताको सुनिश्चितता हुनुपर्नेमा लोकसेवा आयोगको विज्ञापनको नाउमा समावेशीतालाई समाप्त पार्ने षडयन्त्र विरुद्ध सशक्त प्रतिवाद गर्न निर्देशन समेत दिएका छन् ।

उपप्रधानमन्त्री समेत रहेका यादवले समाजवादी पार्टी सरकार, संसद र सडकबाट विभेद अन्त्य, समानता र पहिचान प्राप्ती, संघीयता र लोकतन्त्रका लागि खबरदारी गरिरहेको बताए । विभेद विरुद्ध लड्छ, भिड्छ, परास्त गरी समानता प्राप्त गरिछाडने उनको दावी थियो।

आफुहरु २ बुँदे सहमतिको आधारमा सरकारमा सहभागी भएको भन्दै उनले सहमति कार्यन्वयन नहुने भए सरकार छाडेर संघर्षबाटै पहिचान, अधिकार, समानता प्राप्ती गर्ने बताउनुभयो। यी सबैका लागि संगठन नै जड भएकाले संगठन निर्माणका लागि जुट्न उनको निर्देशन थियो।

कार्यक्रममा नवप्रवेशीहरुको तर्फबाट अधिवक्ता महेस पन्तले मन्तव्य व्यक्त गर्देै देशको मुहार फेर्ने सक्षम नेताहरु भएको पार्टी समाजवादी पार्टी भएकाले आफु आकर्षित भएको बताए । अक्षमहरु सत्ता ओगटेर बसेकै कारण मुलुकको विकास हुन नसकेको भन्दै समाजवादी पार्टीले सत्ता हाँक्ने अवसर पाए मुलुकले छलाङ मार्ने उनको विश्वास थियो।

प्रदेश अध्यक्ष मोति रिजालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी प्रवेशका बारेमा उपाध्यक्ष दीपक तामाङ, पार्टी समायोजन बारे उपाध्यक्ष हेमबहादुर थापा, स्वागत अर्का उपाध्यक्ष काशीमाया गुरुङ र कार्यक्रम सञ्चालन मुख्य सचिव हेमन्त थापामगरले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: