
पोखरा । पोखरा क्षेत्रका लोकनृत्य बिधाका कलाकारहरुको बृहत भेलाले लोकनृत्य कलाकार संघ तदर्थ समिति गठन गरेको छ। पोखरा १०, उत्तमचोकस्थित रोयल दिदिबहिनी किचनमा आयोजित भेलाले केसबहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो।
समितिको उपाध्यक्षमा सनबहादुर गुरुङ, महासचिवा डबिन गुरुङ, सचिवमा माया थापा, कोषाध्यक्षमा रेशम गुरुङ चयन हुनुभएको छ। समितिको सदस्यहरुमा आशिष पुन, राहुल थापामगर, मुना गुरुङ, राम लामा, जसु गुरुङ, प्रिती गुरुङ रहेका छन् । तदर्थ समितिका गठनका लागि वरिष्ठ नृत्य निर्देशक मेनकाजी गुरुङको संयोजकत्वमा मनकुमार श्रेष्ठ, कर्णबहादुर गुरुङ र हुमबहादुर गुरुङ सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
तदर्थ समितिको गठन प्रकृया र काम, कर्तव्यका बारेमा निर्वाचनका सदस्य हुमबहादुर गुरुङ र मनकुमार श्रेष्ठले बोल्नु भएको थियो भने निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका सदस्य वरिष्ठ कलाकार कर्णबहादुर गुरुङले बधाई तथा शुभकामना व्यक्त गरे । निर्वाचन समितिका संयोजक मेनकाजी गुरुङ खादा लगाएर नवनिर्वाचित तदर्थ समितिलाई शुभआर्शिवाद प्रदान गर्नुभएको थियो। नवनिर्वाचित अध्यक्ष केसबहादुर गुरुङले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नुहुदै लोक नृत्यका कलाकारहरुलाई समेट्न पहल गर्ने, छिट्टै संस्था गर्न जुट्नेमा जोड दिए ।
यस अघि भेलाको उद्घाटन गर्नुहुदै निर्वाचन समितिका संयोजक मेनकाजी गुरुङले लोक नृत्य कलाकार मात्रै भन्दा पनि नृत्य कलाकार संघको रुपमा अघि बढ्न सकेमा राम्रो हुने सुझाव दिए । उनले संस्थामा नृत्य गर्ने कलाकार मात्रै नभएर नृत्यलाई माया गर्ने संस्थाका लागि आवाश्यक सहयोगीहरुको पनि सहभागीता गर्न सकेमा संस्था हाँक्न सहज हुने बताए । राज्यसँग श्रोतसँगै, निती, योजनाका बारेमा पनि लबिङ जरुरी भएकाले सबै खालका जानकारहरुलाई संस्थाको आवद्ध गराउनुपर्ने बताए ।
लोकनृत्य कलाकार संघ नेपालको भेला आयोजक समितिका संयोजक केसबहादुर गुरुङको अध्यक्षता, माधव गुरुङको सञ्चालनमा भएको कार्यक्रममा लेखनाथ साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले शुभकामना, स्वागत एवं संस्थाको अवधारणाका बारेमा सनबहादुर गुरुङले मन्तव्य राख्नुभएको थियो भने लोगो डिजाइजर दलबहादुर गुरुङ र सहयोगदाताहरुलाई सम्मान गरिएको थियो।
