
काठमाडौं – उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले राजीनामा दिएका छन् । कर छुट प्रकरणको अनुसन्धानका क्रममा काजमा तानिएका न्यायाधीश अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासमक्ष राजीनामा दिएका हुन् ।
क्षेत्राधिकार मिचेर गोर्खा ब्रुअरीको अन्त:शुल्क सम्बन्धी मुद्दामा आदेश गरेको विषयमा छानबिनमा तानिएका थिए । गोर्खा ब्रुअरीले दायर गरेको रिटमाथि उच्च अदालतको प्रादेशिक क्षेत्राधिकार नाघेर सुनुवाई गरी आदेश जारी गरेको भन्दै सर्वोच्च अदालतले ३ जना न्यायाधीशमाथि छानबिन गर्न आदेश जारी गरेको थियो ।
गएको साउन ८ गते प्रधानन्यायाधीश राणाको एकल इजलासले क्षेत्राधिकार मिचेर फैसला गरेको आरोप लागेका पोखरा उच्च अदालतका न्यायाधीशहरु जीवनहरि अधिकारी, रामचन्द्र यादव र नरबहादुर शाहीमाथि छानबिन तथा कारबाही गर्न आदेश दिएको थियो ।
आदेशअनुसार न्यायपरिषदले सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्लको संयाजकत्वमा एक सदस्यीय समिति बनाएको थियो । न्यायाधीश अधिकारीले केही दिनअघि समिति समक्ष आफ्नो स्पष्टिकरण पेश गरेका थिए ।
उच्च अदालतका तीन न्यायाधीशले भरतपुर आन्तरिक राजश्व कार्यालयले गरेको निर्णयविरुद्ध प्रादेशिक क्षेत्राधिकार बाहिर गएर उच्च अदालत पोखरामा दर्ता हुन आएको रिटमाथि सुनुवाइ गर्दै आदेश दिएका थिए।
आन्तरिक राजश्व कार्यालय भरतपुरले निर्धारण गरेको ८८ करोड ८१ लाख भन्दा बढी अन्तःशुल्क तिर्न पठाएको पत्रविरुद्ध गोर्खा ब्रुअरीले बदर माग गर्दै उच्च अदालत पोखरामा रिट दायर गरेको थियो ।
रिटमाथि सुनुवाई गर्दै शाही र अधिकारीको इजलाशले असार ११ गते आन्तरिक राजश्व कार्यालयको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । जिल्ला न्यायाधीश कार्कीको भने ललितपुर जिल्ला अदालतमा हुँदा एक मुद्दामा आर्थिक लेनदेन गरेको आरोप लागेको छ ।
यो पनि – उच्च अदालत पोखराका तीन जना न्यायाधीशलाई कारबाही गर्न सर्वोच्चको आदेश
