
काठमाडौं – राष्ट्रिय योजना आयोगका एकजना कर्मचारीले सिंहदरबारमै आत्महत्या गरेका छन्। कार्यालय समय सकिएर सोमबार राति ८ बजेको समयमा सिंहदरबार छिरेका नायव सुब्बा बच्चु केसी मृत भेटिएका हुन्।
राष्ट्रिय योजना आयोगको कार्यालयको सानो अनुगमन हलमा उनी मृत भेटिएको योजना आयोगका एक अधिकारीले बताए । सोमबारै राति विष पिएर उनले आत्महत्या गरेको प्रारम्भीक अनुमान गरिएको छ। सिंहदरबार क्षेत्रमा जडान गरिएको सिसीटिभी क्यामेरामा उनी सोमबार राति साधरण पोशाकमा सिंहदरबार छिरेको खुलेको छ।
केसी मृत भेटिएपछि उनको परिवारलाई झिकाइएको योजना आयोगका एक अधिकारीले जानकारी दिए। तर उनले आत्महत्या गर्नुको कारणबारे केही पनि खुलेको छैन। घटनाको जानकारीपछि प्रहरी पुगेर अनुसन्धान भइरहेको महानगरीय प्रहरी प्रवक्ता एसएसपी श्याम ज्ञवालीले बताए। अनुसन्धान भइरहेकाले अहिले नै विस्तृतमा केही भन्न नसकिने जनाएको छ।
