संसदमा उठ्यो राँगादेखि ज्योतिषसम्मका कुरा

Share:

काठमाडौं । भन्सार छलेर काठमाडौं भित्रिएका राँगा, ज्योतिष पेसाको सन्चालन अनुमतिपत्र र स्थानीय तहका लागि लोकसेवा आयोगले खोलेको विज्ञापनसम्बन्धी विषयले प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रवेश पाएको छ ।

बैठकको शून्य समयमा भाग लिँदै सांसद विरोध खतिवडाले भारतबाट लामो समयदेखि भन्सार नाका भएर राँगा–भैंसी नेपाल नभित्रिएपनि काठमाडौंमा मःम र छोयलाको अभाव नभएको देख्दा चोरी बाटो प्रयोग भएको हुनसक्नेप्रति सरकारको ध्यानाकर्षण गराए ।

उनले भने–‘वार्षिकरुपमा भारतबाट १० हजारको संख्यामा राँगा, भैंसी नेपाल भित्रिने गरेको छ । प्रतिराँगा–भैंसी रु ८५६ राजश्व आउँथ्यो, त्यो गुमेको छ । त्यसतर्फ सरकारको ध्यान पुगोस् ।’

सांसद विमला विश्वकर्माले चिकित्सक, वकिल, इन्जिनियरजस्तै ज्योतिष पेसा सन्चालनका लागि अनुमतिपत्र अनिवार्य गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराइन् ।

उनले भनिन्–ज्योतिष पेसा सन्चालन गर्नेको ठूलो आर्थिक कमाइ भएको हुँदा उनीहरुलाई राज्यले करको दायराभित्र ल्याउन जरुरी छ । त्यसका लागि पहिले व्यवसाय सन्चालन गर्न चाहनेका लागि अनुमतिपत्रलाई अनिवार्य गर्न आवश्यक छ ।’

सांसद मीनबहादुर विश्वकर्माले ‘लोकसेवा आयोगले पछिल्लोपटक स्थानीय तहका लागि लिएको विज्ञापन र त्यसपछिको परिस्थितिको विश्लेषण गर्ने हो भने सरकार संविधानविपरीत हिँडेको तथा नागरिक सरकारलाई संविधानको पालना गर्नोस् भनेर चिच्याइरहेकोजस्तो देखिन्छ’–भने ।

सांसद विना श्रेष्ठले अविरल वर्षाका कारण मुलुकका कयौं भागमा पुल र कल्भर्ट बगाउँदा धेरै जनताले आवतजावत गर्न अप्ठ्यारो परिस्थिति भोग्नुपरेकाले छिटो ती संरचना पुनःनिर्माण गर्न माग गरिन् ।

कमेन्ट गर्नुहोस्
Share: