
काठमाण्डौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सार्वजनिक भएको भिडियो किर्ते गरिएको भन्दै आएको जाहेरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाण्डौले अस्वीकार गरेको छ ।प्रहरी अनुसन्धानमा रहेको पत्रकार पुडासैनीको भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपालआज न्युज पोर्टलका सम्पादक संकेत कोइरालाविरुद्ध उजुरी दिएकी थिइन।
तर परिसरले यो मुद्दा आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको भन्दै जोहरी लिन नमानेको निकिताका वकिल राजेन्द्र सेढाईँले जानकारी दिए । यो घटना चितवन प्रहरीले हेरिरहेकाले काठमाण्डौ प्रहरीले हेर्न नमिल्ने भन्दै फर्काइदिएको उनले बताए । अब उनले जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमार्फत मुद्धा अघि बढाउने पनि बताए ।
जाहेरी दर्ता लिन नमानेपछि निकिता पौडेलले काठमाण्डौ प्रहरीप्रति असन्तुष्टि पोखीइन। यही घटनामा मृतक पुडासैनीकी श्रीमती सम्झना पुडासैनीले दिएको उजुरी चाहिँ क्षेत्राधिकारभित्र पर्ने तर आफूले दिन खोज्दा चाहिँ त्यो क्षेत्राधिकारभन्दा बाहिर कसरी भयो भन्दै उनले प्रश्न गरीन् । निकिता र रविका दाजु हरिशरण लामिछाने ३ जनाविरुद्ध किटानी जाहेरी दिन वकिलसहित पुगेका थिए ।
उनीहरुले मुलुकी फौजदारी सहिंता २०७४ को दफा २७६ र २७७ मुलुकी अपराधसहिंता र सरकारी विद्युतीय अभिलेख किर्ते सम्बन्धी कानूनी व्यवस्थामा अनुसार किटानी जाहे+री दिएका थिए। प्रहरीले अस्वीकार गरेपछि निकिता, हरिशरण र अधिवक्ता राजेन्द्र सेढाई बबरमहलस्थित जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन्।पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र स्टाफ नर्स अस्मिता कार्कीलाई प्रहरीले हिरासतमा लिएको छ ।
