
पोखरा । नेपाली महिलाको महान चाड हरितालिका तीजको अवसरमा कस्वीज हर्वलसले एक दिने व्यूटी तथा विजनेस सेमिनार मंगलबार पोखरामा गरेको छ । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ व्यूटिसियन चिनु गुरुङले अहिले महिलाहरु पनि हरेक पक्षमा सक्षम भएको बताइन् । साथै उनले शिक्षा सँगसँगै सिप सिकेर पनि उद्यमी बन्न सकिने बताइन् ।
उद्यमशीलता विकासका लागि पनि महिलाहरु सक्रिय भएर लाग्नु पर्नेमा उनको जोड थियो । यस्तै हिमालयन बैंकका प्रादेशिक प्रमुख दिव्या थापाले आर्थिक अभावकै कारण उद्यमी बन्न महिलाहरु खुम्चिनु पर्ने अवस्था नभएको बताइन् । “अहिले महिलाहरु उद्यमी बन्न आर्थिक अभावका कारण खुम्चिनु पर्दैन,हामी उद्यमी महिलाहरु सँग सहकार्य गर्न सधै तयार र इच्छुक छौं ।” उनले भने ।
कार्यक्रममा भारतका प्रख्यात व्यूटिसियन तथा डाइटिसियन चिरञ्तिका मिश्राले सौन्दर्य प्रशाधनका बारेमा जानकारी दिंदै प्रत्यक्ष फेसियल गरेर पनि देखाएकी थिइन् । यसैविच कार्यक्रममा बहु चर्चित हाँस्यकालाकार सन्दिप क्षेत्रीको पनि हाँस्य प्रस्तुति रहेको थियो ।
कस्वीज हर्वलसका एरिया सेल्स म्यानेजर अमर सिंको अध्यक्षता रहेको उक्त कार्यक्रममा रेडियो अन्नपूर्णका प्रबन्ध निर्देशक सुनयना पालिखे , हिमालयन बैंकका अमर सिंह ब्रान्चका ब्रान्च म्यानेजर निशा श्रीवास्तव, अपरेशन इन्चार्ज सन्ध्या खरेल, एनसेलका प्रोजेक्ट म्यानेजर अभिशेक मिश्रा, सेनाज ब्रान्डका डिरेक्टर सुधिर श्रीवास्तव, गणपति ट्रेडर्सका सञ्चालक विनोद प्रसाद शाहको उपस्थिति रहेको थियो । कार्यक्रममा दुई सय उद्यमी महिलाहरुको उपस्थिति रहेको थियो ।


