आज कृष्णजन्माष्टमी, गौरा पर्व मनाईंदै

Share:

पोखरा । आज भाद्र कृष्ण अष्टमी अर्थात् कृष्णजन्माष्टमी । भगवान श्रीकृष्ण जन्मिएको दिनका रुपमा सनातन धर्मावलम्बीहरू हर्षोल्लासका साथ मनाईंदैछ । नेपाल र भारतमा रहेका श्रीकृष्णमन्दिरमा आजका दिन घुइँचो लाग्ने गर्छ। नेपालमा पाटनको कृष्णमन्दिर लगायत देहभरका कृष्ण मन्दिरहरुमा श्रद्धालुको घुइँचो लागेको छ।

आजका दिन मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन–कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बसी रातमा उनको जन्मको प्रतीक्षा गर्ने र भोलिपल्ट उत्सव मनाउने परम्परा छ।

पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन्। कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धअघि अर्जुनलाई गीताज्ञान प्रख्यात छ। कंस र उनका सहयोगी शकट, भञ्जन, तृणवर्त, वत्सासुर, बकासुर पुतना लगायतको दमन गरी कृष्णले लोकमा शान्ति कायम राखेको पुराणहरूमा उल्लेख छ।

कृष्ण जन्माष्टमीलाई सातम, आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ। भगवान विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने पर्व हो।
यस अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा दिइएको छ ।

यसैगरी, आजै गौरा पर्व मनाईंदैछ । विशेषगरी सुदुरपश्चिममा यसलाई ठूलो पर्वका रुपमा मनाइने गरिन्छ । हिजो साँझ गौराघरमा भित्र्याएको गौरालाई आज व्रतालु महिलाहरुले गौराखला (आँगन)मा लगेर पूजा गर्ने प्रचलन छ।

कमेन्ट गर्नुहोस्
Share: