कविताः म बाठो बन्न सकिनँ

Share:

म बाठो बन्न सकिनँ
किनकि म लाटो बन्न सकिनँ ।

चाहे गाई रेटियोस् बधशालामा
चाहे ब्वाँसो भेटियोस् मन्दिरमा
विवेकको पंक्षी पिंजडामा थुनेर
ओठमा भोटे ताल्चा मार्दिएको भए
गाई पनि आफ्नै साथी हुन्थ्यो
ब्वाँसो पनि आफ्नै साथी हुन्थ्यो
हेर्नुस न मलाई कति जाति हुन्थ्यो
मेरो हात जहिल्यै माथि हुन्थ्यो ।

भक्तले भेटी चढाए पनि खुशी नहुने
डाँकाले भेटी लुटेपनि दुःखी नहुने
देखेर पनि नदेख्ने
सुनेर पनि नसुन्ने
फगत एक मुर्ति भैदिएको भए
भक्त पनि मेरै साथी हुन्थ्यो
डाँका पनि मेरै साथी हुन्थ्यो
हेर्नुस् न मलाई कति जति हुन्थ्यो
मेरो हात जहिल्यै माथि हुन्थ्यो ।

तर खुट्टाले हिँड भन्छ
हातले चल भन्छ
रुद्रघण्टीले आवाज निकाल भन्छ
आत्माले बेईमानी नगर भन्छ
खै अरु, अरु जस्तो बाठो बन्नै सकिन
किनकि म लाटो बन्न सकिन ।

  • शिव पलाँस, अमेरिका

 

कमेन्ट गर्नुहोस्
Share: