
बिग न्यूज
पोखरा, ६ भदौ । मारुनीको प्रचारको क्रममा पोखरा आईपुगेकी साम्राज्ञीलाई पत्रकार सम्मेलनमा जब फ्लोरबाट उनको व्यक्तिगत जीवनसँग सम्बन्धित प्रश्नहरु आए, तब उनी झनक्क रिसाईन् ।
‘मैले मेरा व्यक्तिगत जीवनसँग जोडिएर आएका प्रश्नहरुलाई यसअगाडि नै थुप्रै अन्तरवार्ताहरुमा प्रस्ट्याईसकेकी छु । अझै फेरि किन यही प्रश्न गर्नुहुन्छ ? म एउटै प्रश्नको कतिचोटी उत्तर दिऊँ ?’ अझै उनले प्रश्न सोध्ने पत्रकारलाई आफ्नो बारेमा केही बुझेर र अध्ययन गरेर मात्रै प्रश्न सोध्न आग्रह गरिन् । ‘मैले उत्तर दिन नखोजेको होइन । मैले यही प्रश्नको उत्तर १०० वटा मिडियामा दिइसकेको छु । तपाई एकचोटी घर जानुस्, मेरो इन्टरभ्यु हेर्नुस । अझै उत्तर पाउनुभएन भने फेरी मलाई सोध्नुहोस् ।’ साम्राज्ञीले भनिन् ।
साम्राज्ञीलाई उनको प्रेमीसँग बाली घुम्दा खिचिएको फोटो लिक भएको सम्बन्धमा पत्रकारहरुले प्रश्न सोधेका थिए । जब साम्राज्ञीलाई प्रश्न आयो, सबैभन्दा पहिला फिल्म निर्मात्री पुनम क्षेत्री गौतमले उत्तर दिईन् । ‘यो उसको व्यक्तिगत जीवन हो । र, हरेकले हेर्ने नजर एउटै खालको हुन्छ भन्ने पनि हुँदैन । राम्रो नजरले हेरेको खण्डमा यो कुनै विवाद गर्नुपर्ने कुरा पनि होईन ।’ पुनमले भनिन् ।
छायाँमा पुष्प:
साम्राज्ञीको अगाडि पुष्प खड्का छायाँमा परेका हुन् ? प्रचारप्रसारको क्रममा पोखरा आईपुगेको ‘मारुनी’ टिमले आयोजना गरेको पत्रकार सम्मेलनमा यो चासोको विषय बन्यो ।
पत्रकार सम्मेलनमा पुष्पलाई नै भनेर गरिएको प्रश्न पनि यही थियो । यद्यपि पुष्प संयमित भएर आफूलाई प्रस्तुत गरे । व्यक्तिगत केही सवाल गर्दा बरु अभिनेत्री साम्राज्ञीको सनक हेर्न लायक थियो । पुष्पले भने–‘फिल्ममा नायकको पर्फमेन्समा कमी भयो भने मात्र नायक छायाँमा पर्छ होला । म मा भएको कुरा अरुमा हुदैन र अरुमा भएको कुरा ममा हुदैन । मलाई डर लाग्दैन कि म छायाँमा पर्छु । किनकी मैले फिल्ममा मेरो १०० प्रतिशत दिएको छु । म आफुलाई राम्रो कलाकार मान्छु । र, म आफूले राम्रो पर्फमेन्स गर्छु भन्ने मलाई थाहा छ । त्यसैले मलाई यसको डर छैन ।’


