अंग्रेजलाई पराजित गरेको सम्झनामा तानसेनमा विजयोत्सव मनाइँदै

Share:

पाल्पा । पाल्पा सदरमुकाम तानसेनमा अंग्रेजसँगको युद्धमा नेपाली फौज विजयी भएको दिनको सम्झनामा शनिबार (आज) रण उजिरेश्वरी भगवतीको २०१औँ विजयोत्सव मनाइँदै छ ।

रथयात्राको तयारीमा रहेको भगवती मन्दिरमा शुक्रबार रातभर भक्तालुहरु जाग्राम बसेका छन्।रातभरि जाग्राम बसेर भगवतीको महिमा गाउने र अर्को दिन बिहानैदेखि पूजापाठ गरी रथलाई बजार परिक्रमा गराउने चलन रहेको छ ।

वि.सं. १८७१ ÷७२ तिर जितगढीमा भएको नेपाल–अंग्रेज युद्धमा तत्कालीन कर्णेल उजिर सिंह थापाको नेतृत्वमा गएको नेपाली फौजले अंग्रेज फौजलाई परास्त गरेको थियो। युद्धमा जानुअघि थापाले विजयी भएमा मन्दिर बनाएर प्रत्येक वर्ष सिन्दुर जात्रा गर्ने भाकल गरेको र विजयपश्चात जात्रा मनाउन सुरु भएको इतिहासमा उल्लेख छ ।

पाँच वटा नाकाबाट नेपालमाथि भएको आक्रमणमा चार स्थानमा नेपालले हार बेहोर्नु परे पनि जितगढीको लडाइँमा अंग्रेज फौजलाई नेपाली फौजले हराएको थियो । त्यसैको सम्झनामा विक्रम संवत् १८७६ देखि जात्रा मनाउन थालिएको हो । साइतअनुसार शनिबार दिउँसो पौने एक बजे भगवतीको रथ उठाइने भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिए। जात्राको क्रममा विभिन्न झाँकी, लाखे नाच, वालन नाच, छोकडा नाच समेत देखाइने छ। पञ्चेबाजा र भजनकीर्तकाबीच रथलाई तानसेन बजार परिक्रमा गराइने छ।

कमेन्ट गर्नुहोस्
Share: