
चितवन– चितवनमा डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि डेङ्गु र स्क्रवटाइफसको परीक्षणका लागि कीटको अभाव देखिएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पछिल्लो पटक आएको ३५० कीटमध्ये अब जम्मा ५० कीटमात्रै बाँकी रहेको छ ।
साउन २९ गतेमात्रै कार्यालयमा कीट आएको थियो । कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार कीटको अभावमा अस्पताललाई आवश्यक मात्रामा उपलब्ध गराउन सकिएको छैन ।
माडीमा रहेको बघौडा अस्पतालमा कीट उपलब्ध गराउन सकिएको छैन भने रत्ननगर वकुलहर अस्पतालमा पनि मागअनुसारको उपलब्ध गराउन नसकिएको उनले जानकारी दिए ।
जिल्लामा केही दिनयता डेङ्गुको सङ्क्रमण बढ्दो रहेको छ । उनका अनुसार भदौ ६ गतेसम्म जिल्लामा ५६७ को परीक्षण गरिएकामा २२५ मा डेङ्गुको सङ्क्रमण भेटिएको हो । रासस
