
पोखरा । समाचार लेखेकै भरमा साइबर क्राइमसम्बन्धी मुद्धा खेपिरहेका पोखराका पत्रकार अर्जुन गिरीले सफाई पाएका छन् । ठगीका आरोपित व्यवसायी विपेन्द्रराज बतासले वैशाखमा साइबर क्राइमको मुद्दा दायर गरेका थिए ।
त्यही मुद्दामा २०७६ वैशाख २ गते पक्राउ परेका गिरी पत्रकार महासंघको आह्वानमा देशभर भएको आन्दोलनपछि साधारण तारेखमा छुटेका थिए । मुद्दाको छिनोफानो काठमाडौं जिल्ला अदालतले आज गरेको हो ।
न्यायाधिश विनोद कुमार पोखरेलको इजलासले गिरीलाई सफाई दिएको हो । गिरीको पक्षमा बरिष्ठ अधिवक्ता बोर्ण बोहरा र अधिवक्ता भक्तिराम घिमिरेले बहस गरेका थिए ।
यस अघि गिरीको पक्षमा अधिवक्ता स्वागत नेपालले पैरवी गरेका थिए । तारेखमा छुटेका उनी यसबीचमा चार पटक पेशी तोकिएपछि काठमाण्डौ पुगेका थिए ।
