
म्याग्दी । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धौलागिरि गाउँपालिका–६ बुलमा विद्युत सुविधा पुगेपछि स्थानिय हर्षित बनेका छन् ।
गाउँपालिकाको सहयोगमा स्थानीयवासीले श्रमदान र नगद सङ्कलन गरेर गाउँ झिलीमिली बनाएका हुन् । बुल गाउँका ४० घरमा बिहीबार बेलुकीदेखि बिजुली बलेको हो ।
छिमेकी मल्कवाङमा सञ्चालित नन्दीवाङखोला लघु जलविद्युत् परियोजनाको विद्युत बुलमा विस्तार गरिएको हो । केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारको तत्काल सम्भावना नभएकाले लघु जलविद्युतको बिजुली विस्तार गरिएको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए ।
बुलमा विद्युतीकरणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५र७६ मा रु २५ लाख विनियोजन गरेको थियो । बिजुलीका पोल र तार ढुवानी गर्न रु तीन लाख २० हजार बराबरको श्रमदान गरेका उपभोक्ता समितिका अध्यक्ष नरबहादुर जुग्जालीले बताए । गाउँपालिकाको अनुदानबाट १०४ किलोग्राम तौल भएका ५६ थान विद्युत्का पोल र साढे सात किलोमिटर तार खरीद गरिएको थियो । पोल गाड्ने खाडल खन्न पनि श्रमदान गरिएको थियो ।
स्थानीयवासीबाट नगद सङ्कलन गरेर नन्दीवाङखोला जलविद्युत् परियोजनाको उपभोक्ता समितिलाई विद्युत् खरीदका लागि रु सात लाख ५० हजार बुझाइएको थियो । मल्कवाङको मलम्पारसम्म पुगेको विद्युत्को लाइन विस्तार गरेर बुल र्पुयाइएको हो । विद्युत् सुविधा भएपछि स्थानीयको दैनिकी सहज भएको छ । विद्युतबाट चल्ने कुटानीपिसानी मिल सञ्चालन गरिएको छ ।
गहुँ, मकै, कोदो पिस्नका लागि दुई घण्टा हिँडेर बेँसी पुग्नुपर्ने बाध्यता हटेको स्थानीय लक्ष्मी केसीले बताए । बालबालिकालाई उज्यालोमा बसेर पढ्न र स्थानीयलाई घरायसी काम गर्न सहज भएको छ । बुलका बासिन्दा यसअघि उज्यालोका लागि सोलार र टुकीमा निर्भर थिए । विद्युत् अभावमा सूचना प्रविधि, मनोरञ्जन र उद्यम व्यवसायको अवसरबाट वञ्चित थिए ।
