उमालाई सिआईएस पत्रकारिता पुरस्कार

Share:

पोखरा । सामुदायिक सूचना समाज, पोखराले सूचनाको हक वा सुशासनको क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गर्ने सिआइएस पत्रकारिता पुरस्कार २०७६ बाट महिला पत्रकार उमा आलेमगरलाई सम्मान गरिएको छ ।

विगत १२ वर्षदेखि पत्रकारितामा क्रियाशील उनलाई कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आयोजित कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा, माछापुच्छ्रे गाउँपालिकाका उपप्रमुख कृष्णकुमारी पौडेल दवाडीले नगद ११ हजार १ सय ११ रुपियाँ, माला, दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् ।

पोखराको गण्डकी टेलिभिजन, रेडियो कास्की, हेल्थ अपडेट म्यागेजिन र एफएम रेडियो नेटवर्क अनलाइनमा कार्यरत पत्रकार आलेमगर पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य पनि हुन् ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख सूचना आयुक्त बास्कोटाले सूचना पाउने सबैको अधिकार भएको बताउँदै सूचना लुकाउन नहुनेमा जोड दिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षत्रीय कार्यालय पोखराका सूचना अधिकारी मेघनाथ रिजालले समाजमा सुशासन कायम गर्न सामुदायिक सुचना समाजसँग सहकार्य गर्न अख्तियार तयार रहेको बताए ।

पत्रकारिता पुरस्कारबाट सम्मानित पत्रकार उमा आलेमगरले सूचना छिटोछिरितो उपलब्ध गराउन आग्रह गदै सम्मानले थप हौसला प्रदान गरेको बताइन् । कार्यक्रममा सम्मानित व्यक्तित्वको परिचय पुरस्कार छनोट समितिका संयोजक माधव पनेरुले गरेका थिए ।

कार्यक्रममा सूचना समाज पोखराका अध्यक्ष दिपक आचार्य, पत्रकार यदुनाथ बञ्जरा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक एसपी दानबहादुर कार्की लगायतले बोलेका थिए । कार्यक्रम माछापुच्छ्रे गाउँपालिकाका उपप्रमुख कृष्णकुमारी पौडेल दवाडीको अध्यक्षतामा भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: