तीजको दर : धेरै नखाने, पोषिलो खाने

Share:

नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आजबाट शुरु भएको छ । तीजको अघिल्लो दिन दर खाने प्रचलन अनुसार आज हिन्दु महिलाहरुले माइती, आफन्त र साथी संगीनीसँग मिलेर मीठा परिकार सहित दर खाने गर्दछन् ।

दर खाएको भोलीपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक भएको खानेकुरा खाने चलन रहेको छ ।

हरितालिका तीजका बेला पानीसमेत नखाई ब्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुन्छ । पछिल्लो समय साउन महिना लागेदेखि नै तीजको दरको रुपमा भेला हुने र रमाइलो गरेर दर खाँदै नाचगान गर्ने चलन बढेको छ ।

धेरै नखाने

सकेसम्म महिनादिन अघिदेखि दर नखाएकै राम्रो । खाए पनि शरीरलाई असर नपुग्ने गरी खान विज्ञ सल्लाह दिन्छन् ।

शरीरले धान्नै नसक्ने गरी धेरै खाँदा विभिन्न झाडापखाला जस्ता समस्या हुनुका साथै अन्य स्वास्थ्य समस्या समेत हुन सक्छ ।

शरीरमा अनावश्यक बोसो जमेर अन्य रोग लाग्ने गरी खानेकुरा खान हुँदैन ।

स्वच्छ खाने

मौसम वर्षातको छ । यो मौसममा बजारका खानेकुरा तथा सागसब्जी अस्वस्थ पनि हुन सक्छ । राम्रोसँग पखालिएको र पकाइएको खानेकुरा मात्र खानुपर्छ । घरमै बनाइएको ताजा र पोषिलो खाना खानुपर्छ ।

बासी, सडेका, ढुसी परेका खानेकुराबाट टाढा रहनुपर्छ । दरका लागि बनाइएको खानेकुरा नसिद्धिएर पछिका लागि राखेर खाँदा स्वास्थ्य समस्या हुन सक्ने भएकोले ताजा र स्वच्छ खानेकुरा मात्र खानुपर्छ ।

रमझम गरी रमाइलो गर्ने तीजमा बिरामी परेर हुने बिजोगबाट बच्न खानेकुराको स्वच्छतामा ध्यान दिनैपर्छ ।

पोषिलो खाने

पोषणका लागि दरमा दुग्ध खाद्य पदार्थ खानु राम्रो मानिन्छ । दूध, दही, मखन, घिउ जस्ता खानेकुराले शरीरलाई लामो समय शक्ति दिने खाद्य प्राविधिज्ञ बताउँछन् । व्रतको राति अबेर खाएर शरीरलाई व्रतका लागि तयार गर्नु उपयुक्त हुन्छ ।

शरीरका लागि ग्लुकोज तथा कार्बाेहाइड्रेड दिने खालका खानेकुरा खानु पर्छ । यसका लागि फलफूल तथा अन्नबाट बनेका परिकार खानुपर्छ । मधुमेह, रक्तचाप, ग्याष्ट्रिकका समस्या भएका बिरामीले दर खाँदा खानाको सन्तुलनमा विशेष ध्यान दिनुपर्छ ।

यस्ता बिरामीले सबेसम्म निराहार व्रत पन्छाउनु नै राम्रो मानिन्छ। व्रतको बेला नाचगानका धेरै शक्ति खेर फाल्नु पनि अनुपयुक्त हुन्छ । धेरै परिश्रम पर्दा लिभरमा जम्मा भएको ग्लुकोज सिद्धिएर कमजोरी तथा बेहोस हुने सम्भावना हुन्छ ।

त्यसैले व्रतको समय शरीरलाई भार पर्ने गतिविधि कम गर्नुपर्छ । दरको नाममा मादक पदार्थ सेवन गर्नु विसंगति हो । तीजभन्दा धेरै दिनअघि हुने गरेका दर कार्यक्रममा मदिराजस्ता हानिकारक कुरा प्रयोगलाई निरुत्साहित गरिनुपर्छ।

भारी नखाने

दरमा माछा मासुजस्ता परिकार खाने चलन पनि छ । यस्तो परिकार धेरै मात्रामा खानु स्वास्थ्य समस्या निम्त्याउनु हो । माछा मासु र अन्य परिकार खाँदा धेरै मरमसला हालेर पकाइएको सकेसम्म नखानु राम्रो हुन्छ ।

तीजको अघिल्लो रात खाइने दरमा समावेश खानेकुरामा नुन, पिरो र मसलाको मात्रा कम हुनुपर्छ। तेलमा तारेको खानेकुरा धेरै खाँदा पेटका विभिन्न समस्या देखिन्छ ।

नुन धेरै सेवन गर्दा धेरै प्यास लाग्ने भएकोले निर्जल व्रत बस्नेलाई समस्या हुन सक्छ । निर्जल व्रत बस्न चाहनेलाई निरुत्साहित रोक्न त सकिँदैन । तर, व्रत बस्दा पानीसम्म पिउन विज्ञले सुझाव दिने गरेका छन् ।

यो पनि – शुरु भयो तीज पर्व, आज दर खाने दिन

कमेन्ट गर्नुहोस्
Share: