
काठमाडौं । नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आजबाट शुरु भएको छ । तीजको अघिल्लो दिन दर खाने प्रचलन अनुसार आज हिन्दु महिलाहरुले माइती, आफन्त र साथी संगीनीसँग मिलेर मीठा परिकार सहित दर खाने गर्दछन् ।
दर खाएको भोलीपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक भएको खानेकुरा खाने चलन रहेको छ । हरितालिका तीजका बेला पानीसमेत नखाई ब्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुन्छ ।
दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ ।
दर खाएको भोलीपल्ट निराहार ब्रत बसी हरितालिका तीज मनाउने गरिन्छ । धार्मिक मान्यता अनुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्धितीयका दिन दर खाई तृतीयका दिन ब्रत बसेको किंवदन्ती छ ।
अविवाहिताहरुले महादेव जस्तै पति पाउनका लागि र विवाहिताहरुले आफना पतिको दीघार्युको कामना गर्दै निराहार ब्रत बस्ने चलन छ ।
