अमले बचत तथा ऋण सहकारीको अध्यक्षमा पहारी

Share:

पोखरा । पोखरा महानगरपालिका-१७ छोरेपाटनमा रहेको अमले बचत तथा ऋण सहकारी संस्थाको आठौं साधारण सभा तथा चौथो अधिवेशनले वद्रिनाथ पहारीको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा खेमराज बराल ‘ध्रुब’, सचिवमा एकनारायण भण्डारी, सहसचिवमा मदन कुमार मैनाली, कोषाध्यक्षमा माधव भट्टराई, सहकोषाध्यक्षमा युवराज सुवेदी र सदस्यहरुमा मनुराज आचार्य, कल्पना कार्की, टिकाराम बराल, थाममाया गुरुङ, सावित्रा पौडेल सर्वसम्मत रुपमा निर्वाचित भएका छन्।

त्यसै गरी कृष्णप्रसाद पोखरेलको संयोजकत्वमा छविलाल पनेरु र शारदा भण्डारी सदस्य रहको लेखा समिति पनि सर्वसम्मत चयन गरिएको छ । ले. धर्मदत्त तिमिल्सिनाको संयोजकत्वमा इश्वरी लम्साल र दिव्येश्वरी रेग्मी सदस्य रहेको निर्वाचन समितिले निर्वाचन गराएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले सहकारी मर्ज गरेर ठूला ठूला परियोजनामा लगानी गर्नुपर्ने आवश्यकता रहेको बताए । साथै उनले सहकारी मार्फत बचत गर्ने बानीको साथै आर्थिक गतिविधि गर्न थालेका बताए ।

सो अबसरमा कक्षा १२ मा उत्कृष्ट जिपिए ल्याउने सुमित बाबु रिजाल र अनिता पनेरु, शेयर सदस्यहरु उत्कृष्ट कारोबारकर्ता ध्रुवराज पहारी र साबित्रा पौडेल, उत्कृष्ट बचत कर्ता रन्जना कुमारी शाही, सहब्यबस्थापक सुमित्रा सुबेदीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत तथा सूचना अधिकारी गंगालाल सुबेदी, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष प्रा.डा.भूपति ढकाल ‘कमल’, छोरेपाटन मावि व्यवस्थापन समितिका अध्यक्ष झपिन्द्र रेग्मी, संस्था संस्थापक अध्यक्ष धर्मदत्त तिमिल्सिेना, इन्द्रेणी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर अधिकारी, कोप्स अध्यक्ष डिल्लीराम बराल, शेयर सदस्य सीता बराल लगायतले वोलेका थिए ।

अध्यक्ष माधब पहारीले संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै अब शेयर पुँजी ६ करोड भन्दा बढी र्पुयाउने लक्ष्य रहेको बताए । कोषाध्यक्ष मित्रराज बरालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै प्रतिशेयर सदस्य ५ हजारबाट ६८ सालमा स्थापना भएको सहकारीको हाल ५ सय शेयर सदस्य र शेयर पुँजी ३ करोड १३ लाख १४ हजार पुगेको बताए ।

लेखा समिति संयोजक माधव भट्टराईले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए भने सहकारीका सात सिद्धान्तको बाचन शिक्षा उपसमिति संयोजक एकनारायण भण्डारीले गरेका थिए । संस्थाका अध्यक्ष माधब पहारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत डिल्लीराम शर्मा र संचालन सचिव खेमराज बराल ‘ध्रुब’ले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: