
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १४ का लागि तय स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले आज सोमबार सूचना जारी गरी नयाँ दलका लागि दर्ता आह्वान गरेको हो ।
आयोगले उप–निर्वाचनमा भाग लिन इच्छुक दललाई दर्ताका लागि भदौ मसान्तसम्मको समय दिएको छ । यो अवधिमा दलको लेखापरीक्षणलगायतका आवश्यक कागजात पेस गरेर दर्ता प्रक्रियामा सहभागी हुन सबै दललाई आग्रह गरेको छ ।
नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० मा निर्वाचन पूर्व दल दर्ता गर्नुपर्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार, ०७४ को निर्वाचनमा सहभागी नभएका नयाँ दलका लागि मात्र दल दर्ता आह्वान गरिएको हो ।
