पुलिसलाई राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि

Share:

पोखरा । विभागीय टिम नेपाल पुलिस क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

पोखराको लामाचौरमा सोमबार भएको फाइनल खेलमा होङ्ग्वान्जी न्यू डायमण्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो । पुलिसले न्यू डायमण्डलाई २५-१६,२५-१४ र २५-२० को सोझो सेटमा हराएको हो ।

आईतबार भएको खेलमा पुलिसले श्रीराम खेलकुद विकास समिति दाङलाई र न्यू डायमण्डले गण्डकीलाई हराएको थियो । दुवैलाई समान ३–० को सोझो सेटमा हराएर पुलिस र न्यू डायमण्ड फाइनल प्रवेश गरेका थिए ।

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको प्रतियोगितामा विजेता बनेसँगै पुलिसले रु एक लाख १ सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै उपविजेता बनेको न्यू डायमण्डले ६५ हजार ५ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो भएको छ । तेस्रो स्थानको लागि सोमबार बिहान भएको खेलमा श्रीराम खेलकुद विकास समिति दाङलाई ३-० को सोझो सेटमा पराजित गर्दै घरेलु टोली गण्डकी तेस्रो भएको हो । तेस्रो भएको गण्डकीले २५ हजार ५ रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो ।

तस्बिर-भलिबल नेपाल

कमेन्ट गर्नुहोस्
Share: