
बाजुरा– बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिका–१० मा लक्षित कार्यक्रमअन्तर्गत तोकिएका वर्गका लागि आएको रकम कीर्ते कागजातका आधारमा दुरुपयोग भएको गुनासो बढेको छ ।
आव २०७५/७६ को दलित, महिला, बालबालिका र युवा वर्गको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आएको तीन लाख महिला, दलित, बालबालिका र युवालाई नदिएर उनीहरुलाई कार्यक्रममा सहभागी भएको कीर्ते कागजात तयार पारेर वडापालिकाले नै खर्च गरेको वडास्तरीय दलित नेटवर्कका अध्यक्ष रङ्ग विकले आरोप लगाए ।
आर्थिक तथा सामाजिक रुपमा पिछडिएका वर्गलाई विभिन्न किसिमका तालीम, गोष्ठी आयोजना गरेर उनीहरुको क्षमता अभिवृद्धि तथा आयआर्जनका क्रियाकलाप गर्नाको सट्टा उल्टै बञ्चित गर्न खोजेको उनले बताए ।
वडा नं १० का वडास्तरीय बाल सञ्जालका अध्यक्ष राकेश विकले बालबालिकाका लागि आएको रकम बालबालिकालाई नै जानकारी नगराई वडाले आफैँले खर्च गरेको बताए ।
