छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

Share:

पोखरा । तनहुँ, रौतहट, चितवन, मोरङ र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।

तनहुँ भिमाद नगरपालिका ७ बैदार चौतारास्थित सडकमा लु४त १४५० नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँका १० वर्षीय बालक युनिक विकको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय हरी मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रौतहट गौर नगरपालिका ३ बिपी चोकस्थित सडकमा बिआर २२ एच ०१६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार ४८ वर्षीया निरुदेवी सिंहको उपचारको लागि वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चितवन भरतपुर महानगरपालिका १ आँपटारीस्थित सडकमा सोमबार बिहान नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री अन्दाजी ३१ वर्षीय पुरुषको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ। उनको नाम, थर र ठेगाना नखुलेको प्रहरीले जनाएको छ। ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ।

मोरङ मिक्लाजुङ गाउँपालिका ७ मधुमल्लास्थित सडकमा ना२ख ५२२७ नम्बरको बसको ठक्कबाट इलाम चुलाचुली गाउँपालिका ६ बस्ने ८० वर्षीया नन्द कुमारी राईको सोमबार बिहान मृत्यु भएको छ। सोही बसबाट ओर्लेर बाटो क्रस गर्ने क्रममा बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको अरनिको अस्पताल उर्लाबारी मोरङमा उपचारको क्रममा मृत्यु भएको हो। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही भालुबाङ सडकखण्डको पिपरीमा सोमबार राति मोटरसाइकल एक आपसमा ठोक्किँए लगत्तै ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । लु १९ प ५५०६ र रा ३ प २०६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किए लगत्तै पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ६७७४ नम्बरको ट्रकले ठक्कर दिँदा रा ३ प २०६१ नम्बरको मोटरसाइकलमा रहेका घोराही उपमहानगरपालिका–१५ निवासी २६ वर्षीय बालकृष्ण भण्डारी र लमही नगरपालिका– ४ निवासी २७ वर्षीय विनायक चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएपछि दुवै जनालाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पताल र्पुयाएलगत्तै उनीहरुको मृत्यु भएको हो ।
त्यस्तै, दुर्घटनामा परी लु १९ प ५५०६ नम्बरको मोटरसाइकलमा सवार राप्ती गाउँपालिका –८ बिजौरीका २८ वर्षीय दिपक मरासिनी गम्भीर घाइते भएका छन् । घाइतेको थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: