
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम दिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई आग्रह गरेका छन् ।
बुधबार संसदमा बोल्दै उनले सिंगापुरमा उपचाररत प्रधानमन्त्रीको स्वास्थ लाभको कामना गरे । साथै विदेश उपचार गर्नु परेमा सरकारले उपचार खर्च नव्यहोर्ने कानुन पालना गरेकोमा धन्यवाद दिए ।
तर प्रधानमन्त्रीको उपचारबारे सरकारले संसदलाई यथार्थ जानकारी नगराएको भन्दै असन्तुष्टि जनाए । तर केही चिकित्सकले संकेत गरेको जस्तो पटकपटक विदेश गएर वा विश्राम लिएर उपचार गर्नु पर्ने भए के गर्ने भन्ने प्रश्न उठाए ।
प्रधानमन्त्री आलंकारिक पद नभएको र पछिल्लो समय कार्यबोझसमेत बढाइएको भन्दै उनले भने, ‘उहाँले यो सबै गर्ने इच्छाशक्ति राख्नुहुन्छ भन्नेमा दुईमत छैन । तर इच्छाशक्ति मात्र सबै कुरा होइन । शारिरीक स्वास्थ्यले पनि धेरै कुरा निर्धारण गर्छ ।’
सत्तारुढ नेकपासँग बहुमत भएको र पार्टीमा प्रधानमन्त्री भइसकेका र हुने इच्छा राख्ने व्यक्तिहरु पनि भएको भन्दै उनले प्रधानमन्त्री ओलीलाई किन विश्राम दिन नचाहेको भन्ने प्रश्न गरे ।
नेकपाका सांसदहरुले प्रधानमन्त्रीलाई ‘बा’ भनेर सम्बोधन गरेको सुनेको भन्दै उनले भने, ‘प्रधानमन्त्री हाम्रो पनि बा सरह हुनुहुन्छ । हामी हाम्रो बा बिरामी हुनु भएको भए के भन्थ्यौं ? बा, धपेडी नगर्नुस् । आराम गर्नुस् । विश्राम लिनुस् ।’
‘हामी हाम्रो बालाई त्यसो भन्छौं तर प्रधानमन्त्री बालाई यसो भन्न किन सक्दैनौं ? यो गल्ती हिजो हामीले पनि र्गयौं । र, सबैभन्दा बढी नजिक बस्ने मान्छेले अन्याय र्गयो । यो अन्याय तपाईहरु नगर्नुस् । प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुस् ।’
प्रजातान्त्रिक आन्दोलन, शान्ति प्रक्रियामा योगदान र्पुयाएको तथा स्वाभिमानको लडाइँमा अथक योद्धाका रुपमा काम गरेका ओलीलाई लामो समय अभिभावकका रुपमा हेर्न चाहेको उनले बताए ।
