
स्याङ्जा । स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुधबार भएको सो दुर्घटनामा २३ जना घाइते भएका छन् ।
पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको लु १ ज ३८४१ नम्बरको जीप गल्याङ् नगरपालिका-३ मा रहेको बुटवल पावर कम्पनी नजिकैबाट करिब ४ सय मिटर तल खसेको थियो ।
क्षमता भन्दा बढी मान्छे राख्दा जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए।
दुर्घटनामा जीपमा सवार दुई महिला र एक बालकको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय स्याङ्जाले जानकारी दिएको छ । मृत्यु हुनेमा वालिङकी मन्जु भण्डारी गैरे, पाल्पाकी फनीमाया नेपाली र वालिङका दुई वर्षीय बालक प्रशन्न दर्जी रहेका छन् ।
बालकको स्याङ्जाकै गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको र दुई जना महिलाको पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकाको मिशन अस्पताल पाल्पामा उपचार भइरहेको छ । जीपमा २८ जना सवार रहेको बताइएको छ । दुर्घटनामा पर्नेहरुमा तीज मनाएर घर फर्कदै गरेका महिला धेरै छन् ।
याे पनि – स्याङ्जामा जीप दुर्घटना : दुई जनाको मृत्यु, २१ घाइते
