पोखराकाे चाउथेमा एकै ठाउँमा तीन पटक चोरी, प्रहरीले वास्ता नगरेको गुनासो

Share:

पोखरा । पोखरा महानगरपालिका-१४ चाउथे स्थित खसीबजार चोकमा रहेका तीन पसलमा चोरी भएको छ । असारदेखि भदौसम्म ३ महिनामा सँगै रहेका पसलहरु चोरी हुँदा पनि प्रहरीले सुरक्षाका लागि वास्ता नगरेको पीडितहरुले गुनासो गरेका छन् ।

पहिलो पटक असारमा अर्जुन बास्तोलाले सञ्चालन गरेको पोखरा मोबाइल हाउसमा चोरी भएको थियो । त्यसको २५ दिनपछि दिनेश केसीको उषा वाइन शपमा चोरी भएको र भदौ १९ गते नवराज अधिकारीको मनकान्छी फेन्सी सप्लायर्समा चोर पसेर सामानहरु लग्दा समेत प्रहरीले सुरक्षा दिन नसकेको पीडितले दुःखेसो पोखेका छन् ।

राति १ बजेदेखि ३ बजेभित्र एउटै घरको ३ सटरमा चोरी भईसकेको छ । चोरी हुन बाँकी पूजा पसल मात्र छ । चाउथेको पुलिस बिट भन्दा ५०० मिटर नजिकै रहेको सो स्थानमा महिनैपिच्छे एउटै घरका सटरमा चोरी भएको हो।

यस विषयमा वडा प्रहरी कार्यालय रामबजारमा २ पटक निवेदन दिइसकेको जानकारी गराउँदै उषा वाइन शप सञ्चालक केसीले प्रहरी इन्स्पेक्टरलाई समेत भन्दा पनि सुरक्षाका लागि वास्ता नभएको बताए ।

‘नजिकै प्रहरी बिट छ । यसरी चोरी भएको छ भनेर भन्यौं, हामीले चोरेका हौं र ? भन्छन् प्रहरीहरु । यस विषयमा प्रमुखलाई समेत भन्दा पनि सुरक्षा कडा बनाउँछु, यस एरियामा २ जना खटाउँछु भन्नुभयो तर ३ दिन भयो, छैन ।’ केसीले भने ।

वडा प्रहरी प्रमुखलाई जानकारी गराउँदा समेत एक पटक पनि चोरिएको पसलबारे बुझ्न र निरीक्षण गर्न नआएको पीडितहरुको गुनासो छ ।

वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक दीपक केसीले भने बुझिसेको प्रतिक्रिया दिए । उनले भने, ‘सबै पसलहरुमा सामान्य चोरी हो, मुचुल्का नै उठाएर ल्याएको, किन नजानु ? सुरक्षामा प्रतिबद्ध छौं ।’

कमेन्ट गर्नुहोस्
Share: