
बागलुङ– गण्डकी प्रदेश मातहत रहने गरी बागलुङ जिल्लामा घरेलु तथा साना उद्योग कार्यालय स्थापना भएको छ । कार्यालयको शुक्रबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उद्घाटन गरे।
सो अवसरमा मन्त्री लम्सालले उद्योगको विकासबिना मुलुकको समृद्धि सम्भव नभएको बताए। “उत्पादन वृद्धि र रोजगार सिर्जनाका लागि उद्योगको विकास हुन आवश्यक छ”, उनले भने, “प्रदेश सरकारले पनि उद्योगमा विशेष जोड दिएको छ ।”
स्थानीय उत्पादनको व्यवसायीकरणमा जोड दिँदै उहाँले साना तथा लघु उद्योगको संरक्षण र क्षमता विकासमा प्रदेश सरकारले सघाउने बताए।
कार्यालय प्रमुख गोमादेवी शर्माले कार्यालयबाट उद्योग दर्ता, नवीकरणलगायतका सेवा प्रदान हुने जानकारी दिए। उद्योगको अनुगमन, नियमनसमेत कार्यालयबाटै हुनेछ ।
