
पाल्पा – पाल्पाको एकै गाउँका ७३ जनामा भाइरल ज्वरोको सङ्क्रमण देखिएको छ।
जिल्लाको पूर्वखोला गाउँपालिका–३ अर्खलडाँडा क्षेत्रमा भाइरल ज्वरोको प्रकोपले स्थानीयलाई सताएको छ । गाउँमा चार दिनअघि देखि भाइरल ज्वरोका बिरामी देखा परेका हुन् ।
गाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेपछि गाउँपालिकाले शिविर नै खडा गरेर स्वास्थ्य उपचार सेवा दिएको स्वास्थ्य शाखा उपसंयोजक मोहन ढकालले बताए।
भाइरल ज्वरोका बिरामीमध्ये १७ जना विद्यार्थी रहेका छन् । शिविरमार्फत निःशुल्क स्वास्थ्य उपचार तथा औषधि दिइएको छ ।
गाउँपालिकाका अन्य क्षेत्रमा पनि फाट्टफुट्ट मात्रामा भाइरल ज्वरोका बिरामी देखापरेका छन् । जिल्लाको तानसेन, रामपुर क्षेत्रमा पनि भाइरल ज्वरोका बिरामी देखिएका छन् ।
भाइरल ज्वरोबाट बच्न जिल्लाका सबै स्वास्थ्य संस्थामा बिरामीको राम्रो रेखदेख र सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीलाई अनुरोध गरिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए ।
रुघाखोकी लागेजस्तो हुनु, ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, नाकबाट सिँगान बग्नु, शरीर दुख्नु, खान मन नलाग्ने जस्ता भाइरल ज्वरोको लक्षण हुन् ।
स्वास्थ्य संस्थामार्फत नागरिकलाई भाइरल ज्वरोबाट सचेत रहन विभिन्न जनचेतना दिइएको छ ।
