
बाग्लुङ । बाग्लुङमा सञ्चालित केही औषधी पसलहरुले तोकिएको भन्दा तीन गुणा बढी मूल्यमा औषधीको बिक्री गर्ने गरेको पाइएको छ ।
बाग्लुङ नगर अनुगमन समितिको संयोजनमा बाग्लुङ बजारमा गरिएको अनुगमनका क्रममा तोकिएकोभन्दा २० देखि ३० प्रतिशतसम्म बढी मूल्यमा औषधी बेच्ने गरेको पाइएको हो ।
अनुगमनका क्रममा औषधी पसलमा २० देखि ३० प्रतिशतसम्म बढी मूल्यमा औषधी बेच्ने गरेको बिलहरु भेटिएका छन् ।
अनुगमनमा बढी मूल्य लिने गरेको भेटिए पनि औषधी पसलेहरुले भने तोकेको मूल्यमा नै औषधीको बिक्री वितरण गर्दै आएको बताएका छन् ।
यस्तै औषधी पसलसँगै सञ्चालन गरिएका क्लिनिक बिना इजाजत सञ्चालन गरेको पाइएको छ ।
केही स्वास्थकर्मीले औषधी पसल सञ्चालन गर्ने इजाजत पत्र दक्षता नभएका व्यक्तिलाई दिएको पाइएकोले तत्काल सुधार गर्न सचेत गराइएको बागलुङ नगर अनुगमन समितिका संयोजक युक्तप्रसाद सुवेदीले बताए ।
सुधार नगरे आवश्यक कारवाही प्रक्रिया अगाडी बढाउने संयोजक सुवेदीले जानकारी दिए ।
कानुन विपरित सञ्चालनमा रहेका क्लिनिक तथा औषधी पसलहरु कानुन अनुसार सञ्चालन गर्नुपर्ने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले स्पष्ट पारेका छन्।
