
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको हामी सक्छाैँ (वी क्यान) समूहले झरना हेर्न जाँदा घाइते भएकी अनिशा थापालाई आर्थिक सहयोग गरेको छ । गएको साउन ११ गते तनहुँको भिमादमा रहेको थाङ्दि झरना हेर्ने क्रममा झरना माथिबाट खसेको ढुंगाले लागेर उनी गम्भीर घाइते भएकी थिइन् । शनिबार सो समूहले अस्पतालमै पुगेर रु ८० हजार सहयोग गरेको हो ।
१५ वर्षिया थापालाई उपचारका लागि काठमाडौँ लगिएको थियो । अहिले अवस्था सुधारोन्मुख भएपछि पोखरा १५ नयाँ गाउँको हरियोखर्क अस्पतालमा उनको उपचार भइरहेको छ ।
झरनाबाट खसेको ढुंगाले लाग्दा उनको टाउको, ढाड, मेरुदण्ड र कोखमा गम्भीर चोट लागेको थियो । घाइते थापाको मेरुदण्ड भाँचिनुका साथै दाहिने हात खुट्टामा गम्भीर समस्या देखिएको थियो ।
उनको पारिवारिक अवस्था कमजोर रहेको र उपचारमा समस्या आउने देखिएपछि आफूहरुले सहयोग रकम उठाइ थापाको परिवारलाई हस्तान्तरण गरेको समूहका सचिव सुरज भण्डारीले जानकारी दिए । उनलाई कठिन अवस्थामा सहयोग गर्न पाउँदा निकै खुसी लागेको समूहका अध्यक्ष सुवास बानियाँले बताए ।
‘अनिशालाई दुखको अवस्थामा सहयोग गर्न पाउँदा निकै खुसी छौँ । आगामी दिनमा पनि हामी सहयोग गर्ने नै छौँ ।’ उनले भने, ‘हामी समूहका ३० जना साथी मिलेर एक हप्ता रकम उठाएका थियौँ, आज सहयोग गरेका छौँ ।’
सहयोग रकम समूहका अध्यक्ष सुवास बानियाँले घाइते थापाकी आमा लुरुमाया थापालाई प्रदान गरेका थिए । सहयोग रकम बुझ्दै उनले आफ्नो छोरीका लागि सबै जुटिदिएकोमा निकै खुुसी लागेको बताइन् । उनले भनिन्, ‘मेरो छोरीका लागि सबै जुटिदिनु भएको छ, म सबैलाई मनैबाट आभार प्रकट गर्न चाहन्छु । स्वदेश विदेशबाट सहयोग गरी मेरो छोरी बचाइदिनु भएको छ, म एकदमै आभारी छु ।’
समूहले एक हप्तासम्म शुक्लागण्डकी नगरपालिका भित्र सहयोग रकम उठाएको थियो । उनलाई सहयोग गर्न चाहानेले मुक्तिनाथ विकास बैँकको खाता नं ०१२२०२००४३९६२५०००००२ सहयोग गर्न सक्ने अध्यक्ष बानियाँले जानकारी दिए ।
उनी तनहुँको शुक्लागण्डकी नगरपालिका– ४ मा रहेको पञ्चमुनिदेव मा.विको कक्षा ११ मा अध्ययनरत छन् । यसअघि उनलाई आफ्नै विद्यालयले ६३ हजार ४ सय ३३ रुपैयाँ सहयोग गरेको थियो ।
