
पोखरा । पोखरा महानगरपालिका ३३ मा रहेको समाज जागरण क्लबले दशैँको अवसर पारेर दुई दिने खेलकुद एवम् साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । क्लबले दशैँ विशेष कार्यक्रम अन्तर्गत वडा स्तरीय खुल्ला दौड तथा एकल नृत्य प्रतियोगिता गर्ने भएको हो ।
क्लबका अध्यक्ष बिनोद भण्डारीको अध्यक्षतामा शनिबार बसेको बैठकले असोज १८ र १९ गते कार्यक्रम गर्ने निर्णय गरेको हो । क्लबले पहिलो दिन खुल्ला वडा स्तरीय दौड प्रतियोगिता गर्ने भएको छ । क्लबले विभिन्न तीन उमेर समूह बनाई विभिन्न दुरीको दौड प्रतियोगिता आयोजना गर्न लागेको हो ।
१८ वर्ष भन्दा मुनि उमेर समूहकालाई १.५ किलोमिटरको दौड प्रतियोगिता सञ्चालन गरिने भएको छ । यस्तै ३५ वर्ष उमेर समूहका लागि दुई किलोमिटर र ३५ वर्ष माथिका लागि १ किलोमिटर कायम गरिएको क्लबका अध्यक्ष भण्डारीले जानकारी दिए ।
यस्तै कार्यक्रमको दोस्रो दिन असोज १९ गते एकल नृत्य प्रतियोगिता सञ्चालन गरिने भएको छ । दुवै प्रतियोगितामा वडा नं ३३ का स्थानियले मात्र भाग लिन पाउने क्लबले जनाएको छ ।
