
काठमाडौं । काठमाडौं उपत्यकामा सोमबारदेखि विद्युतीय बस सञ्चालनमा आएको छ। सुन्दर यातायात प्रालिले चीनबाट ल्याएका दुई विद्युतीय बसमार्फत उपत्यकामा सेवा सुरु गरेको हो।
सार्वजनिक रुपमा प्रयोग हुने विद्युतीय बसको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका हुन्। सुरुमा २ वटा विद्युतीय बसबाट सेवा सुरु गर्न लागेको सुन्दर यातायात प्रालिले थप ५ वटा ल्याउने प्रक्रियामा रहेको जनाएको छ। सरकारले समेत
काठमाडौंलगायत विभिन्न सहरमा विद्युतीय बस सञ्चालन गर्ने निर्णय गरिसकेको छ। सुन्दर यातायातले सञ्चालन गर्ने विद्युतीय बसले चक्रपथ परिक्रमा गर्नेछ।
काठमाडौंको चक्रपथ परिक्रमा गर्ने गरी रुट अनुमति पाएको कम्पनीका भेषबहादुर थापाले बताए। कम्पनीले थप ११ वटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ।
यो वर्षभत्रै कम्पनीले २५ वटा बस काठमाडौंमा चलाउने गरी प्रक्रिया अघि बढाइएको अध्यक्ष थापाले जानकारी दिए। सुन्दर यातायातले ल्याएका विद्युतीय बस नेपाली बाटो अनुकुल रहेको दाबी कम्पनीको छ।
यसका लागि कम्पनीले बस ल्याउनुभन्दा पहिले नै अध्ययन गरेको थियो। कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने दाबी गरेको छ।
सुन्दरले ल्याएका बस चिनियाँ कम्पनी बिएकेले उत्पादन गरेको हो। विद्युतीय बस सुन्दर यातायातले प्रति एकाई १ करोड ६२ लाख रुपैयाँमा खरिद गरेको हो।
तस्बिर – बाह्रखरी
