
काठमाडौं – बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको उद्घाटन भएको छ ।
भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गरेका हुन् ।
नेपालको तर्फबाट प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’ मार्फत एकैसाथ स्वीच थिचेर सो परियोजनाको उद्घाटन गरे ।
उद्घाटनसँगै मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिएको छ । यो पाइपलाइन दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजना हो ।
पहिलो चरणमा पाइप लाइनबाट डिजेल मात्र ल्याइनेछ । त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ । मोतिहारी–अमलेखगञ्ज पाइप लाइनको दूरी ६९.२ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ ३६.२ र भारततर्फ ३३ किलोमिटर छ ।
पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने परियोजनाले जनाएको छ ।
पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुनेछ । पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानी लागतको न्यूनीकरणले पेट्रोलियम पदार्थको उपभोक्ता मूल्यसमेत घटेको छ ।
निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो । सो परियोजना विविध कारणले एक दशकभन्दा बढी समय रोकिएर रहेको थियो ।
सन् २०१५ को अगष्टमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेसँगै परियोजना निर्माण शुरु भएको हो । सो परियोजना निर्माणमा नेपाल र भारत सरकारले अत्यन्त चासो व्यक्त गरेका थिए ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा नयाँ दिल्लीबाट प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा पाइप लाइन परियोजनाको शिलान्यास गरेका थिए । परियोजनाको लागत दुई अर्ब ७५ करोड भारतीय रुपैयाँ छ ।
घट्यो पेट्रोलियम पदार्थको मूल्य
यसैबीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल, डिजेल र मट्टीतेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।
पेट्रोलियम पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटाएको हो । नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा मट्टीतेलको मूल्य ९५ मा झरेको छ ।
यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टीतेलको मूल्य समान ९७ रुपैयाँ थियो ।
नेपाल भारत पेट्रोलियम पाइपलाइन परियोजना उदघाटनको अवसर पारेर मुल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ । घटेको पेट्रोलको मूल्य मंगलबार दिउँसो १२ बजेदेखि लागु भएको छ ।

