पोखराबाट सुरु हुँदै नेपाल आइडल सिजन-३ को अडिसन, पोखरामा भदौ ३१ गते

Share:

पोखरा । अन्नपूर्ण मिडिया नेटवर्क प्रालि अन्तर्गतको एपीवान टेलिभिजनले सञ्चालन गरेको नेपाल आइडल सिजन-३ को अडिसन पोखराबाट सुरु हुने भएको छ ।

आउँदो भदौ ३१ गते पोखरामा अडिसन हुँदै छ । पोखराको सिमलचौरमा रहेको जनप्रिय मावि परिसरमा पहिलो चरणको अडिसन हुने बताइएको छ । अडिसन बिहान ८ बजेदेखि बेलुकी ४ बजे सम्म हुनेछ ।

नेपाल आइडलका प्रोजेक्ट हेड तथा निर्देशक सुरेश पौडेलले पोखरापछि असोज ३ गते बुटवल, असोज ६ गते नेपालगञ्ज, असोज १० गते विरगञ्ज र असोज १४ गते झापाको विर्तामोडमा अडिसन हुने जानकारी दिए ।

प्रतियोगितामा भाग लिन चाहनेले फर्म भरेर ल्याउनु पर्ने छ वा त्यही पाइने फर्म भरेर बुझाउनुन पर्ने उनले बताए । फर्म र प्रतियोगितमा भाग लिनका लागि कुनै शुल्क लाग्ने छैन ।

उनले अघिल्लो नेपाल आइडलमा भएका कमी कमजोरीलाई हटाएर अझ उत्कृष्ट कार्यक्रम बनाएको उल्लखे गरे । प्रतियोगिताको निर्णायकमा संगीतकार न्ह्यू बज्राचार्य, संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी छन् ।

अमेरिकन आइडलको फ्रेन्चाइज लिएर एपीवान टिभीले दुई वर्ष देखि नेपाल आइडल गायन प्रतियोगिता सुरु गरेको हो । नेपाली नागरिकता भएका १६ देखि ३० वर्षभित्रका नेपालीले प्रतियोगितामा भाग लिन पाउने छन् ।

सांगीतिक एल्बमका लागि गीत रेकर्ड गरिसकेका व्यावसायिक गायक र गायिकाले समेत यसमा भाग लिन सक्ने छन्। पहिलो सिजनमा बुद्ध लामा र दोस्रो सिजनमा रवि ओड बिजेता भएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: