पाँच दिनपछि खुल्यो बेनी–जोमसोम सडक

Share:

बेनी । गत पाँच दिनदेखि अवरुद्ध रहेको बेनी–जोमसोम सडक बिहिबार बिहानबाट सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ र मुस्ताङको थासाङ गाउँपालिका–४ को सिमाना घोप्टेभिरमा पहिरोले आइतबारदेखि अवरुद्ध बनेको बेनी–जोमसोम सडक बिहिबार बिहानबाट सञ्चालनमा आएको हो ।

पहिरोले करीब १३ मिटर सडकको बेस (जग÷आधार) भत्काएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने ७६ किलोमिटर दूरीको यो सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको थियो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको निर्माण कम्पनीको डोजर परिचालन र नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थ प्रयोग गरेर पहाड फुटाएर मर्मत गरिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । बुधबार राति सडक मर्मत गरेपछि बिहिबार बिहानबाट सिधा यातायात सेवा सुचारुमा आएको हो ।

बेनीदेखि मुस्ताङ जाने सवारी साधन काभ्रे र मुस्ताङबाट बेनीतर्फ आउने सवारी साधन घाँसामा रोकिएका थिए । बाटो सुचारुभएसँगै स्थानीयवासी, मुस्ताङ भ्रमण गर्ने पर्यटक र मुक्तिनाथ तीर्थयात्राका लागि जाने जाने तीर्थयात्रीलाई गन्तव्यतर्फ जान सहज भएको छ ।

मुस्ताङमा उत्पादित स्याउ बजारमा पुग्न थालेको छ । यसअघि गत असार अन्तिम सातासमेत सोही ठाउँमा कालीगण्डकीले कटान गरेर बगाएको सडक एक हप्तापछि मर्मत गरेर यातायात सञ्चालन गरिएको थियो ।

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकको गलेश्वरदेखि घाँसासम्मको सडक पहिरोको जोखिममा रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: