अहिलेसम्म ६२ जिल्लाका पाँच हजार जना डेंगुबाट संक्रमित, ६ जनाको मृत्यु

Share:

काठमाडौं – गएको साउनदेखि हालसम्म करिब साढे पाँच हजार जनामा डेंगु देखिएको छ । ईपिडिमियिोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभर डेंगुबाट ६ जनाको मृत्यु भएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक करिब ४ सयको हाराहारीमा बिरामी पुग्ने गरेका अस्पताल प्रशासनले जनाएको छ । जसमा करिब ७० प्रतिशतमा डेंगु पोजिटिभ देखिएको अस्पतालका चिकित्सकहरुले बताएका छन् ।

जनशक्ति र बजेट अभावका कारण डेंगु नियन्त्रणमा समस्या भएको महाशाखाका प्रमुख डा. विवेक लालले बताए । देशका ६२ जिल्लामा डेंगु देखिएको छ ।

सरकारले चालू आर्थिक २०७६–०७७ मा डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न ८५ वटा पालिकामा १ करोड ६६ लाख रुपैयाँ विनियोजन गरेको छ । केन्द्रमा भने १ करोड ७१ लाख वजेट विनियोजन गरिएको महाशाखाले जनाएको छ ।

डेंगुबाट बच्ने उपाय

यो रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । सोही जातको लामखुट्टेको टोकाइबाट बच्न सके यो रोगबाट पनि बच्न सकिन्छ । डेंगुका विषयमा सुरुमा आफैं सचेत हुनुपर्छ ।

पानी जम्माका गरिएका भाँडा घोप्टयाएर राख्न, घरवरपर पानी जम्न नदिन, लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकको सुझाव रहेको छ । डेंगु लागेपछि उच्च ज्वरो आउने, जोर्नी तथा हाडहरु दुख्ने, वान्ता हुने, खाना खान मन नलाग्ने र शरीरका विभन्न अंगबाट रगत बग्नेलगायतका लक्षण देखिने गर्दछ ।

कमेन्ट गर्नुहोस्
Share: