
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्री निवास आफ्नो लागि नभएको बताएका छन् ।
प्रधानमन्त्री निवासको नयाँ भवन शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल सकिँदा भवन बनि नसक्ने तर त्यसपछि बन्ने प्रधानमन्त्रीहरुले उक्त नयाँ भवन प्रयोग गर्न पाउने उनले बताए ।
‘म अहिले ४१ औं प्रधानमन्त्री छु’, उनले भने, ‘यो भवनमा १ सय ४१ औं, २ सय ४१ औं प्रधानमन्त्री पनि बस्न पाउनुहुन्छ।’
सरकारले संसद भवन बनाउन ठूलो लगानी गरेको भन्दै आलोचना भइरहँदा प्रधानमन्त्री ओलीले त्यसलाई नकारात्मक रुपमा लिन नमिल्ने बताए ।
बाह्य दवाव र प्रभाव पर्न नदिन संघीय संसद भवन सरकारले आफ्नै लगानीमा बनाउन सुरु गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले देशको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था, नीति, निर्माण गर्ने संस्था त्यसलाई स्वतन्त्र ढंगले अघि बढाउन पनि आफ्नै लगानीमा सो भवन निर्माण गर्न लागिएको प्रष्ट पारेका हुन् ।
सरकारले अहिलेको प्रधानमन्त्री निवास परिसरमै प्रधानमन्त्री निवास र बैठक कक्षसहितका दुई भनव निर्माण गर्न लागेको छ। ती दुबै भवनको निर्माणका लागि ४० करोड लाग्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
संसद सम्बोधन स्थगीत
यसैबीच प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीले आज संसदमा गर्ने भनिएको सम्बोधन स्थगित भएको जानकारी दिए ।
उनका अनुसार संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा शुक्रबार प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने भएसँगै आज सदनमा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको हो ।
