साझा पार्टी गोरखाको संयोजकमा किशोर रेग्मी

Share:

 गोरखा । साझा पार्टीको गोरखा जिल्ला संयोजकमा किशोर रेग्मी चयन भएका छन् । शुक्रबार संविधान दिवसको दिन पारेर आयोजित एक कार्यक्रमका बीच रेग्मीलाई जिल्ला संयोजकको रुपमा पार्टीले सार्वजनिक गरेको हो ।

कार्यक्रममा साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्र र गण्डकी प्रदेश संयोजक महेश भण्डारीले संयुक्त रुपमा माटोको टिका लगाएर जिल्ला संयोजक घोषणा गरेका थिए ।

साझा पार्टीको जिल्ला संयोजक घोषणा भएसँगै रेग्मीले जिल्लाका नगरपालिका र गाउँपालिकाहरुमा संगठन विस्तार अभियानलाई तीव्रता दिने बताए ।

‘पार्टीको संगठनलाई स्थानियस्तरबाटै बलियो बनाउने कुरा मेरो प्राथमिकता रहनेछ । र, पार्टीले दिएको यो जिम्मेवारीलाई मैले सफलतापूर्वक निभाउन प्रयास गर्नेछु।’ रेग्मीले भने ।

साझा पार्टीको गोरखा जिल्ला संयोजक बनेका रेग्मी वाणिज्य शास्त्रमा स्नातक हुन् । घरेलु उर्जा क्षेत्रका एक सफल व्यवसायी समेत रहेका रेग्मी मानव अधिकारवादी अगुवा र सामाजिक अभियानकर्मी पनि हुन् ।

मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान गोरखा, हेड्स नेपाल, पृथ्वीनारायण साना शहरी खानेपानी लगायतका संस्थामा आवद्ध रहेका रेग्मी गोरखाका समाजसेवी हुन् ।

यसैबीच पार्टी निर्माण सँगै साझा पार्टी गण्डकी प्रदेशले अब कास्कीमा हुन लागेको उपनिर्वाचनमा जित्नेगरी लागि पर्ने प्रदेश संयोजक महेश भण्डारीले जानकारी दिए।

‘चतुमुर्खी ब्रह्मका झैँ अब हाम्रो सम्पूर्ण उर्जा र उत्साह चुनावमा खर्च गर्ने छौँ, त्यसको लागि फरक र सृजनात्मक चुनावी अभियानमा साझा पार्टी लाग्ने छ।’ संयोजक भण्डारीले भने।

संगठन विस्तारको क्रममा रहेको साझा पार्टीले अन्य जिल्लाहरुमा पनि संयोजक घोषणा गर्ने क्रमलाई तीव्रता दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: