
पर्वत । निर्माणाधीन उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डको काम लामो समयदेखि अलपत्र बनेको छ । करिडोरको पर्वत खण्डअन्तर्गत फलेवास–अर्मादी खण्ड ठेकेदारको लापर्वाहीका कारण अलपत्र बनेको हो ।
२०७३ साल असार २२ मा सम्झौता भई २०७५ जेठ २१ गते सम्पन्न गर्नुपर्ने भए पनि अझै ३० प्रतिशतभन्दा बढी काम बाँकी रहेको छ । सम्झौता अवधि सकिएको डेढ वर्षसम्म पनि सडकको काम अलपत्र बनेको हो । ठेकेदारको लापर्वाहीका कारण काम सम्पन्न हुन नसकेको पाइएको छ ।
रु नौ करोड १७ लाख ४९ हजार २४५ को लागतमा निर्माण हुन लागेको उक्त खण्डको फलेवास ढिकदेखि मोदीवेणीसम्म ट्र्याक खुले पनि सवारीसाधन चल्ने अवस्था छैन । मोदीवेणीदेखि अर्मादीसम्मको तीन किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ ।
उक्त खण्डको स्तरोन्नतिको जिम्मा पाएको सूर्य कन्ट्रक्सन प्रालि सुकेधारा काठमाडौँको ढिलासुस्तीका कारण सम्झौता अवधि नाघेको डेढ वर्षसम्म पनि काम सम्पन्न नगरेको कार्यालयले जानकारी दिएको छ । कार्यालयले पटकपटक ताकेता गर्दा पनि निर्माण व्यावसायीले काम शुरु नगरेपछि २०७६ साल जेठ ४ गते १० प्रतिशत जरिवानासहित म्याद थप गरिएको हो ।
प्रतिदिन रु ४५ हजार ९०० का दरले जरिवाना लगाएर म्याद थप गरेको चार महीना बितिसके पनि अझै काम पुनः सञ्चालन नगरेको कार्यालयले जनाएको छ । उक्त खण्ड १४ किलोमिटर रहेको छ । कार्यालयले ट्र्याक खोल्ने, ग्राभेल गर्ने र कल्भर्ट तथा टेवा पर्खाललगायतको काम गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।
ठेकेदार कम्पनीले अहिलेसम्म झण्डै रु छ करोड भुक्तानी लगिसकेको छ भने रु तीन करोड १७ लाख भुक्तानी हुन पनि बाँकी रहेको कार्यालयले जनाएको छ । पटक पटक पत्राचार गर्दा पनि काम शुरु नगरेको आयोजना प्रमुख नगेन्द्र सुवेदीले जानकारी दिए ।
उनकाअनुसार दैनिकजसो ठेकेदारलाई सम्पर्क गरेर काम शुरु गर्न ताकेता गरेको भए पनि बेवास्ता गरेको हो । उनले अझै पनि आफूले पहल गरिरहेको बताउँदै अब पनि शुरु नगरे कानूनबमोजिम कारवाही गरिने बताए ।
उनले भने, “हामीले निरन्तर सूर्य कन्ट्रसनका सञ्चालक सूर्यबहादुर खड्कालाई सम्पर्क गरेर काम नियमित गर्न दबाब दिइरहेका छौँ, तर अहिलेसम्म शुरु गरेको छैन ।” अब अन्तिम पटक चेतावनी दिइने र उक्त कम्पनीले काम नगरे ठेक्का सम्झौता रद्द गरिने उनले जानकारी दिए ।
साउन, भदौ, असोजभित्र काम गर्छु भनेर लिखित प्रतिबद्धता जनाएपनि अहिलेसम्म शुरु नगरेको आयोजना प्रमुख सुवेदीको भनाइ छ । यता सूर्य कन्ट्रक्सनका सञ्चालक सूर्यबहादुर खड्काले विभिन्न समस्याका कारण केही समय ढिलाइ भएको बताउँदै आगामी पुस १५ गतेभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।
यसैबीच अलपत्र अवस्थामा रहेको उक्त सडकका कारण मोदीवेणी घाटमा शव दाहसंस्कारका लागि जाने मलामी समस्यामा परेका छन् । सडकले पुरानो पैदल बाटो पुरिदिएका कारण जोखिम मोलेर घाटमा जानुपर्ने अवस्था रहेको छ ।
File Photo
