सभामुख महरा कजाकस्तान उडे, परराष्ट्रमन्त्री आजै न्यूयोर्क जाने

Share:

काठमाडौं – सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखहरूको बैठकमा भाग लिन कजाकस्तान प्रस्थान गरेका छन्। सभामुख महरा ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार कजाकस्तान प्रस्थान गरेका हुन्।

सेप्टेम्बर २२ देखि २५ सम्म कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका सभामुखहरुको चौथो बैठकमा भाग लिन महरा त्यसतर्फ गएका हुन्।

सभामुख सहितको टोलीमा प्रतिनिधि सभाका सांसद मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरि छन्। उक्त टोलीमासंसद सचिवालयका प्रमुख लेखा नियन्त्रक बसन्तराज सिग्देल र सभामुखका स्वकीय सचिव डोरबहादुर पुन पनि छन्।

सभामुख महराले सम्बोधन गर्ने कार्यक्रममा कजाकस्तानका लागि नेपाली महावाणिज्यदूत बरुण चौधरी र प्रतिनिधि सभा सदस्य विनोद चौधरी पनि सहभागी हुने बताइएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली न्यूयोर्क जाने

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा सहभागी हुन आज राती साढे ९ बजे न्यूयोर्क जाने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यका कारण महासभामा सहभागी नहुने भएपछि परराष्ट्रमन्त्री ज्ञवाली न्यूयोर्क जान लागेका हुन् । ज्ञवालीले महासभालाई १३ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ ।

यसैगरी ९ असोजमा नेपाल सार्क राष्ट्रको अध्यक्षको हैसियतले सार्क विदेश मन्त्रीहरुको अनौपचारिक वार्ताको अध्यक्षता गर्ने कार्यक्रम रहेको छ ।

अल्पविकसित र भूपरिवेष्ठित देशका मन्त्रिस्तरिय बैठकमा सहभागी हुनेलगायतका कार्यक्रम पनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभामा गरिवी न्यूनिकरण, गुणस्तरीय शिक्षा, जलवायू परिवर्तनका मुद्धामा छलफल हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: