
पोखरा। पृथ्वी राजमार्गअन्तर्गत साविक दुई लेनमा रहेको पोखरा –मुग्लिन सडक चार लेनमा विस्तार हुने भएको छ । राष्ट्रिय राजमार्गहरूको स्तरोन्नति र विस्तार गर्ने क्रममा सो सडक विस्तार गर्न लागिएको हो ।मुलुकको पर्यटकीय हबका रूपमा विकास भइरहेको पोखरालाई राजधानीसँग जोड्ने पोखरा –मुग्लिन सडक चार लेनको निर्माण गर्न अध्ययन प्रक्रिया अगाडि बढिसकेको जानकारी सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले दिए ।
सो सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयारीको अन्तिम चरणमा पुगेको जानकारी उनले दिए। उनका अनुसार सो सडकको विस्तार दुई चरणमा गरिने छ । पहिलो चरणमा पोखरादेखि आँबुखैरेनी सम्म र दोस्रो चरणमा आँबुखैरेनी –मुग्लिन खण्ड विस्तार गरिने छ ।
सडक निर्माणका लागि ठेक्का प्रक्रियाको तयारी भइरहेको छ । सो सडकको डीपीआर कोरियन इन्जिनियरिङ कन्सल्ट्यान्टले तयार पारिरहेको छ । एसियाली विकास बैङ्क एडीबीको ऋण सहयोगमा सडक विस्तार गर्न लागिएको जानकारी प्रवक्ता सापकोटाले दिए ।
