
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट र कांग्रेस छुट्याउन गाह्रो पर्ने अवस्था आएको बताए । तत्कालीन नेकपा एमालेकी नेतृ सहाना प्रधानको पाँचौँ स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले कम्युनिष्ट विचार र सिद्धान्तका हिसाबले कमजोर बन्दै गइरहेको बताए ।
पार्टी कार्यालयमा आयोजित स्मृति सभामा प्रचण्डले भने, “सत्ता प्राप्तिअघि गरेको सङ्घर्षका आधारमा हामीलाई जनताले माया र भरोसा गरे । तर हामीले तदनुरूप व्यवहार गर्न सकेनौं । समाजवादको यात्रा शुरू गर्ने त भनेका छौँ, तर के हामी समाजवादको यात्राका निम्ति एउटा योद्धाजस्तै छौँ त ? या हामी विस्तारै विस्तारै कांग्रेसजस्ता या हिजोका निरङ्कुश जस्तै ? छुट्याउनै गाह्रो हुने पो भयौँ कि ?”
उनले पूर्वी युरोपको समाजवादी सत्ता धराशायी बनेझैँ नेपालको कम्युनिस्ट आन्दोलन पनि क्रमशः शिथिल बन्दै जाने खतरा रहेको बताए । उनले दुई ठूला कम्युनिस्ट पार्टी एकतावद्ध भएपछि पनि कम्युनिस्ट पार्टीले गति लिन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।
“गुटैगुट बनाएर आपसमा लड्न पार्टी एकता गरेका हौं त ? कमरेड सहाना प्रधानले कल्पना गरेजस्तो पार्टी बन्छ त यसरी ?” उनले भने । अध्यक्ष प्रचण्डले निरंकुश तानाशाही राणाशासनविरुद्ध जीवनभर लडेकी नेतृ साहाना प्रधानलाई स्मरण र सम्मान गर्दैगर्दा सवैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताए ।
कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले साहाना प्रधानले नेपालको कम्युनिस्ट आन्दोलनमा गरेको योगदान अविस्मरणीय रहेको बताएका थिए ।
