धरानबासीलाई पोखरा भ्रमणको निम्ताे

Share:

पोखरा । पश्चिमाञ्चल होटल संघ पोखराले धरानबासीलाई पोखरा भ्रमणको निम्ताे दिएको छ । धरानमा सोमबार एक पत्रकार सम्मेलनको अयोजना गरी त्यहाँका बासिन्दालाई पोख्रेली पर्यटन व्यवसायीले पोखरा भ्रमणको निम्ताे दिएको हो ।

वर्षा यामको समापनसँगै चाडवाडको मौसम सुरु भएको र पोखरा नजिक हिमालहरु पनि प्रष्टसँग खुल्ने स्मरण गराउँदै संघका अध्यक्ष विकल तुलाचनले धरानबासीलाई पोखरा भ्रमणको लागि आग्रह गरेका हुन् ।

गण्डकी प्रदेश सरकारले अहिले आन्तरिक पर्यटन बर्ष २०१९ समेत मनाइरहेको स्मरण गराउँदै अध्यक्ष तुलाचनले यही अवसरमा पोखरा घुम्न धरानबासीलाई आग्रह गरे । भौगोलिक र सांस्कृतिक रुपमा समेत पोखरा र धरान बीच धेरै समानता भएको उल्लेख गरे ।

उनले पोखरा घुम्न आउने आन्तरिक पर्यटकलाई विभिन्न छुटका प्याकेजहरु समेत व्यवस्था गरिएको जानकारी दिए । पोखरामा सामान्यस्तरदेखि पाँचतारे होटलहरुको सुुविधा उपलब्ध रहेको भन्दै तुलाचनले पर्यटकले आफ्नो आर्थिक हैसियत अनुसार होटलमा बस्ने, खाने र घुमघामका प्याकेज किन्न सक्ने भनाई राखे ।

पोखराका होटलमा ३० हजार भन्दा बढी शैया रहेको र मनग्य रेष्टुराँहरु समेत भएको भन्दै उनले पोखरा पुग्ने पर्यटकका लागि बस्न र खानको कुनै समस्या नहुने बताए । संघले आन्तरिक पर्यटन प्रबद्र्धनका लागि जाउँ है पोखरा, भारतीय पर्यटकका लागि चलिय पोखरा र तेश्रो मुलुकहरुमा समेत पर्यटन प्रबद्र्धन अभियान संचालन गर्दै आएको स्मरण तुलाचनले गराए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लोपटक मुक्तिनाथको भ्रमण गरेपछि पोखरा र वरपर भारतीय पर्यटक आगमनमा समेत बढोत्तरी आएको उनले जानकारी गराए । सोही अवसरमा तुलाचनले पर्यटनको विकासका लागि पूर्वाधारको विकास पनि उत्तिकै महत्वपूर्ण हुने भन्दै यस विषयमा सरकार गंभीर बन्नुपर्ने सुझाव राखे ।

सो अवसरमा बोल्दै होटल एसोसिएशन धरानका अध्यक्ष सरोज भट्टराईले संघले संचालन गरेको जाउँ है पोखरा अभियान सराहनीय भएको भन्दै पर्यटनमा सहकार्य गरेर अगाडि बढ्न आफूहरु तयार रहेको भनाई राखे । धरान र वरपर थुप्रै पर्यटकीय गन्तव्यहरु भएको भन्दै ती क्षेत्रको भ्रमण गर्न पोखरेलीसँग उनले आग्रह गरे ।

नेपाल पर्यटन बोर्डको आयोजना तथा धरान उपमहानगरपालिकाको समन्वयमा धरानमा आयोजित तीन दिने दोश्रो इष्ट टुरिजम मार्ट २०१९ मा भाग लिन पश्चिमाञ्चल होटल संघ पोखराको एक टोली धरान पुगेको थियो ।

पर्यटन मार्टमा पोखरेली होटलकर्मीहरु द्विपक्षीय ब्यापारिक भेटघाटमा सहभागी भएका थिए । सो मार्टमा नेपालका सातै प्रदेशका पर्यटन व्यवसायी, भारत, बंगलादेश, भुटान लगायतका देशका पर्यटन व्यवसायी समेत सहभागी भएका थिए ।

मार्टमा पोखरेली व्यवसायीले पोखरा र वरपरका पर्यटकीय गन्तव्य तथा उपलब्ध सेवा सुविधाका बारेमा समेत जानकारी गराएका थिए । पोखरा सम्बन्धि प्रचार सामग्रीको वितरण र पर्यटकीय प्याकेजहरुका बारेमा जानकारी समेत सो अवसरमा गराइएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: