
नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका –८ पूर्व–पश्चिम राजमार्गमा सोमबार राति ट्रक र कार एक आपसमा ठोक्किँदा कारमा रहेका पाँच जनाको मृत्यु भएको छ ।
राति करिब सवा १० बजे खरकट्टा जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कार ठोक्किँदा कारमा सवार पाँच जना पुरुषको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते पाँचै जनाको उद्धार गरी उपचारका लागि चितवन लैजाँदै गर्दा बाटोमा नै सबैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । मृत्यु हुनेमध्ये तीन जनाको सनाखत भएको छ। सनाखत हुनेमा देवचुली नगरपालिका–१ केउरेनीका ३५ वर्षीय दीपक भन्ने पूर्णबहादुर विश्वकर्मा रहेको उनका भतिज सुमन विश्वकर्माले जानकारी दिए। यस्तै, देवचुलीकै दिलबहादुर ढेगा मगर र कैलालीको धनगढी–११ घर भै हाल देवचुली बस्दै आएका सुरज राना मगर रहेको प्रहरीले जनाएको छ। अन्यको सनाखत हुन सकेको छैन।
यस्तै, नवलपरासीको मध्यविन्दु नगरपालिका –१० राति पौने २ बजे दाङबाट काठमाण्डौका लागि छुटेको बस पल्टिँदा एक जनाका मृत्यु भएको छ । कम्तीमा १५ जना घाइते भएका छन् ।
ना ७ ख ८६४२ नम्बरको बस आफैँ अनियन्त्रित भएर पल्टिएको हो । बस पल्टिँदा मकवानपुर घर भएका बसका चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार चार जनाको नवलपुर अस्पताल, एक जनाको कालिगण्डकी अस्पताल र १० जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।
