
पोखरा । मंसिरमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को थप अभ्यासका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली पोखरा आएको छ ।
महिला फुटबल पोखरामा नै हुने भएका कारण महिला टोलीले पोखरामा नै अभ्यास गर्ने भएको हो । टोलीका मुख्य प्रशिक्षक हरि खड्काले ठाउँअनुसार खेलाडीलाई खेल्न सहज होस् भनेर टोली पोखरा आएको जानकारी दिए ।
पोखरामा त्रिभुवन आर्मी क्लबको मैदान र सहारा एकेडेमीको मैदानमा रहेर तयारी गर्नेछ । टोलीले यसअघि सातदोबाटोस्थित एन्फा मैदानमा अभ्यास गरेको थियो ।
किर्गिस्तानमा हालै सम्पन्न नाडेज्दा कपमा उपविजेता बनेको टोलीका सदस्यसहित ३२ खेलाडी प्रशिक्षणका लागि पोखरा आएका छन् । नेपाल नाडेज्दा कपको फाइनल खेलमा उज्वेकिस्तानसँग ३–२ गोल अन्तरले पराजित भएको थियो ।
साग मंसिर १५ बाट २४ गतेसम्म पोखरा र काठमाडौंमा आयोजना हुँदैछ ।
