महेन्द्र र चमेरे गुफामा ‘फ्रि वाइफाई’

Share:

पोखरा । पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफा र चमेरे गुफामा फ्रि वाइफाई सेवा शुरु गरिएको छ । गुफा घुम्न आउने आन्तरिक तथा बाहय पर्यटकलाई लक्षित गरी वाइफाई मार्फत सुविधा पुर्याउने उद्देश्यले सेवा शुरु गरिएको महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिले जनाएको छ ।

ईन्टरनेट प्रदायक संस्था वर्ल्डलिंकको सहयोगमा गुफा पर्यटकीय विकास समितिले महेन्द्र गुफा र चमेरे गुफामा उच्च क्षमताको वाइफाई सेवा शुरु गरेको समितिका संयोजक गुरुदत्त भट्टराईले जानकारी दिए । विन्ध्यवासिनी मा.विको संरक्षण तथा स्वामित्वमा रहेका दुवै गुफामा मंगलवार एक कार्यक्रमका बीच पोखरा महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले सेवा शुभारम्भ गरेका हुन् ।

त्यस अवसरमा वडाध्यक्ष आचार्यले फ्रि वाइफाई सेवाले गुफा क्षेत्रको थप प्रचार हुने र यसले बढी भन्दा बढी पर्यटकको नजिक पुग्न सकिने विश्वास व्यक्त गरे । उनले गुफाको गुरुयोजनालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै थप आर्कषण बढाउन सके पर्यटकको संख्यामा वृद्वि हुने बताए ।

कार्यक्रममा पुर्व वडाध्यक्ष एवं गुरु योजना निर्माण उपसमितिका सल्लाहाकार उदय वहादुर बस्नेत, विन्ध्यवासिनी मा.विका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, गुरुयोजना निर्माण उपसमितिका सल्लाहाकार सुशील वस्नेत, वल्र्ड लिङ्क प्रा.लिका फ्रि वाइ फाइ प्रोजेक्ट म्यानेजर ओममणि जोशी, अप्रेशन म्यानेजर शिशिर पौडेल लगायतले विभिन्न प्रविधि मार्फत गुफा क्षेत्रको प्रचार-प्रसार गर्नुपर्नेमा जोड दिएका थिए ।

समितिले गुफा क्षेत्रको गतिविधीलाई व्यवस्थित र सुरक्षित बनाउन यस अघि नै सिसि क्यामेरा जडान गरिसकेको छ । फ्रि वाइफाई सेवा शुरु भएसँगै अब गुफा घुम्न आउने आन्तरिक तथा वाहृय पर्यटकले तत् स्थानवाटै फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्न सक्नेछन् ।

कमेन्ट गर्नुहोस्
Share: