कास्कीमा ट्याक्सी र च्याङग्रा चोर्ने पक्राउ, भिरबाट लडेर शिक्षक घाइते

Share:

पोखरा । कास्की प्रहरीले पार्किङ गरेर राखेको ट्याक्सी चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चोरी कार्यमा संलग्न २२ वर्षीय राजन राई, २१ वर्षीय अजय परियार, २० वर्षीय संजय परियार र एक १४ वर्षीय बालकलाई पक्राउ गरेको हो ।

उनीहरुले पार्किङ गरि राखिएको ग १ ज ३८७१ नम्बरको मारुती सुजुकी ट्याक्सी चोरी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राज कुमार केसीले जानकारी दिए । उनीहरुले गएको असोज ६ गते पोखरा-१४ मझेरीपाटनको शिर्व मार्ग टोलमा राखिएको ट्याक्सी चोरेका थिए ।

आफूले राखेको ठाउँमा ट्याक्सी नदेखेपछि ट्याक्सी धनीले प्रहरीमा खोजीका लागि निवेदन दिएका थिए । प्रहरीले खोजी गर्ने क्रममा पोखरा-२६ को टाइगरटप डाँडा नजिकै सो ट्याक्सी फेला पारेको छ ।

यस्तै प्रहरीले पर्वतबाट पोखरा ल्याउँदै गरिएको च्याङग्रा चोर्ने दुई जनालाई पनि पक्राउ गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ६ ढावामा बिहिबार पर्वतबाट ल्याइएको च्याङग्रा चोरी गर्ने स्थानीय २४ वर्षीय सागर गुरुङ र विशाल गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले विक्रिका लागि पोखरा झर्दै गरिएको एक सय ९९ वटा मध्ये दुई वटा च्याङग्रा चोरेका थिए । बाटोबाटै चोरी गरेको च्याङग्रा पोल्दै गरेको अवस्थामा उनीहरुलाई समातिएको डिएसपी केसीले बताए ।

दुवै घट्नामा पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

भिरबाट लडेर शिक्षक घाइते

पोखरामा भिरबाट लडेर एक शिक्षक घाइते भएका छन् । पोखरा महानगरपालिका २८ ओखले बस्ने ५८ वर्षीय कुल प्रसाद तिमिल्सिना सौर्य भञ्याङको भिरबाट लडेर घाइते भएका हुन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दिपक रेग्मीका अनुसार स्थानीय श्री शोभा रत्न माध्यामिक विद्यालयमा पढाएर घर फर्कने क्रममा उनी भिरबाट लडेका थिए ।

शुक्रबार बिहान घाइते अवस्थामा फेला परेका उनलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल ल्याइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: